काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहकै प्रस्तावअनुसार नेपाल प्रहरीका पाँच डिआइजी एआइजी बढुवामा सिफारिस भएका छन् । अब यही ब्याचबाट दुई सातापछि प्रहरी महानिरीक्षक चयन हुने भएकाले यो बढुवालाई महत्वपूर्ण मानिएको छ ।
ज्येष्ठताको हालकै वरियताअनुसार नै बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा सिफारिस भएका हुन् । यसअघि आइजिपीको प्रतिस्पर्धामा १६ जना रहेकोमा अब पाँच जना भएका छन् ।
पाँचमध्ये कुँवरको सम्भावना बलियो भएको छ । डिआइजी बढुवामा नेपाली कांग्रेस र आइजिपीको साथले १ नम्बरमा फड्को मारेका उनी एआइजीमा पनि पहिलो नम्बरमै रहन सफल भएपछि अब आइजिपीको कुर्सीबाट एक स्टेप मात्र टाढा छन् । तुलनात्मक रुपमा उनी व्यवसायिक प्रहरी अधिकारीकै रुपमा चिनिन्छन् ।
टेक प्रसाद राई दोस्रो नम्बरमै रहन सफल भएका छन् । उनी पनि इमान्दार अधिकृत मानिन्छन् । तर, राजनीतिक नेतृत्वको चाकडी नगर्ने स्वभावका कारण उनी आइजिपी हुने सम्भावना न्यून रहेको बताइन्छ ।
तेस्रो नम्बरका दिपक थापा आइजिपीका अर्का प्रमुख दाबेदार हुन् । उनको सबै दलको नेताहरुसँग निकटतम सम्बन्ध छ । चैत १० पछि प्रहरी नेतृत्वका लागि बसन्त र थापाबीच नै प्रमुख प्रतिस्पर्धा हुने बताइन्छ । यद्यपी कुँवर आइजिपी भएर अवकाश पाएपछि पनि थापाले छोटो समयका लागि आइजिपी हुने भएकाले कुँवरको सम्भावना बढी रहेको बताइन्छ । यद्यपी कुँवर राजनीतिक नेतृत्वसँग राम्रोसँग समन्वय गर्न नसक्ने प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।
चौथो नम्बरका श्यामलाल ज्ञवाली र पाँचौ नम्बरमा बढुवा सिफारिस भएका किरण बज्राचार्य पनि प्रतिस्पर्धामा भएपनि उनीहरुको पनि अहिलेको नेतृत्वसँग निकटता छैन ।
पाँचमध्ये कसैलाई पनि सरकारले विश्वास नगरेकोमा अहिलेकै आइजिपी धिरजप्रताप सिंहले निरन्तरता पाउने सम्भावना पनि छ।