Logo
Logo

भन्सारको सेटिङमा हमला


2.1k
Shares

काठमाडौं । एक व्यक्ति इमान्दार भएर काम गर्ने हो भने राज्य संयन्त्र कति धेरै परिवर्तन गर्न सक्छ भन्ने कुरा हालै राजश्व अनुसन्धान विभागको नेतृत्व परिवर्तनले देखाएको छ । विभागमा नारायण सापकोटा महानिर्देशक बनेलगत्तै सिंगो भन्सार प्रशासनको कार्यशैली फेरिएको छ ।

विभागमा उनको कार्यशैलीले देशभरीका भन्सार कार्यालयमा तरंग उत्पन्न भएको छ । देशभरी भन्सार राजश्व अस्वभाविक घटेपछि त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारीसहित गत महिना सरकारले उनलाई भन्सार चुहावट नियन्त्रणको जिम्मेवारीसहित राजश्व अनुसन्धानमा पठाएको थियो । जसको नजिता एक महिनामै देखिन थालेको छ ।

यसअघि भन्सारमा दैनिक राजश्व एक अर्ब भन्दा कम उठ्थ्यो । फागुन महिनामा सवा अर्ब भन्दा धेरै राजश्व उठिसकेको छ । अझ भन्सारमा हुने सेटिङ भत्किएपछि धेरै सामानको भन्सारपास रोकिएको छ । मिलेमतोमा पास भएका गाडीहरु एकपछि अर्काे राजश्व अनुसन्धानले नियन्त्रणमा लिन थालेपछि व्यापारीहरुले सामान रोकेर ‘पर्ख र हेर’को रणनीति लिएका छन् । साथै आउने सामानमा पनि वास्तविक भन्सार तिराउन थालिएको छ । यसले भन्सार राजश्वको असुलीमा सुधार भएको छ ।

स्रोतका अनुसार राजश्व अनुसन्धानले भन्सारका केही कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ । विमानस्थलबाटै छुटेका केही गाडी समेत नियन्त्रणमा लिएर जरिवाना गराई छाडिएको छ । यसअघि गाडी समाउने र मिलेमतोमा छाड्ने प्रवृत्ती व्याप्त थियो । अहिले अधिकतम धरौटी तिराउन थालेपछि तस्करी गर्ने व्यापारी तथा भन्सार एजेन्ट समेत हैरान भएका छन् ।

साथै एक महिनामै विभागले ६० करोड रुपैयाँ बिगो बराबरको मुद्दा दायर गरिसकेको छ । विभागको नेतृत्वले अर्थ मन्त्रालयलाई भने राहत भएको छ । तर, सेटिङमा गएका भन्सारका कर्मचारी तथा भन्सार एजेन्टहरुको भने निदहराम भएको छ ।

महानिर्देशक सापकोटा यस अगाडि भन्सार विभागको महानिर्देशक हुँदा उनले भन्सारबाटै सुधार थाल्ने प्रयास गरेका थिए । तर, त्यो कुरा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई मन परेन र उनी हटाइए । अहिले सापकोटाले राजस्व चुहावटको मूलढोका भन्सारलाई तारो बनाएका छन् । उनले भन्सार महानिर्देशकदेखि सबैलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्