Logo
Logo

आइएसद्वारा अबु इब्राहिम अल कुरैशी नयाँ नेता चयन : को हुन् कुरैशी ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

बेरुत, १५ कात्तिक (एएफपी) । इस्लामिक स्टेट्स (आइएस) समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्ति गरेको बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।
‘हामी तपाइँलाई एक वफादार कमाण्डरको रुपमा नियुक्त गर्दछौँ’ जिहादी समूहका प्रवक्ता अबु हमजा अल कुरैशीले बग्दादीको निधनमा दिएको शोक अडियोमा बताएका छन् ।
अमेरिकी विशेष फौजले गत आइतबार गरेको एक कारबाहीमा बग्दादी सिरियाको इद्लिबमा मारिएका थिए । आइएस लडाकू सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल बग्दादी समूहका नेता घोषणा भएका थिए ।
आइएसले नियुक्त गरेका नयाँ नेताको विस्तृत विवरण र तस्वीर भने सार्वजनिक गरिएको छैन । तर, उनीहरुले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकू भएको दाबी गरेका छन् ।
सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतंककारी घोषणा गर्दै उनलाई पक्राउ गर्ने व्यक्तिलाई दुई करोड ५० लाख डलरको पुरस्कार घोषणा गरेको थियो ।
आइएसका नेता अबु बकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकाले गत आइतबार दाबी गरेको थियो । विश्वमै सर्वा्धिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार राति ‘आज ठूलै कुरा हुँदैछ’ भन्दै ट्वीट गरेका थिए । उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता भएलगत्तै इस्लामिक स्टेट्सको प्रभाव बढ्ने अनुमान भइरहेका बेला त्यसै संगठनका प्रमुख नेता मारिएको खबर सार्वजनिक भएको थियो ।
कुनै समय इराक, सिरिया समेतको ठूलो भू–भागमा कब्जा जमाउन सफल इस्लामिक स्टेट्सको पछिल्लो समय पराजयको क्रम शुरु भएको बताइन्छ । अल–बग्दादीले विगत पाँच वर्षदेखि इस्लामिक स्टेट्सको नेतृत्व गरिरहेका थिए । चरमपन्थी इस्लामिक यस सङ्गठनको इराक र सिरियामा प्रभाव रहेको बताइएको छ ।
अल–बग्दादीको मृत्यु भइसकेको बताइए पनि उनी पछिल्ला केही वर्षदेखि भूमिगत थिए । कतिपयले उनको मृत्यु भइसकेको दाबी गरिरहेका थिए ।
यो संगठनका समर्थकले युरोप र अमेरिकी भू–भागमा आतङ्कवादी आक्रमण गरेका थिए । इस्लामिक स्टेट्सले पछिल्लो समय हत्या हिंसामार्फत जनजीवन त्रसित बनाउने गरेका थिए । बग्दादीले पछिल्लो समय गत महिना एउटा अडियो रेकर्ड सार्वजनिक गर्दै आफ्ना लडाकू, एवम् आफू र आफ्ना परिवारका सदस्यलाई मुक्त गर्न अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्