काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी संगठन सदृढीकरण गर्ने घोषणा गरेका छन् । आईतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि प्रहरीमा सुधार आवश्यक रहेको भन्दै उनले आन्तरिक सुधार गर्ने घाषणा गरेका हुन् ।
आइजीपी कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने बताए । प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको स्पष्ट पारेका उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने प्रतिवद्धता जनाए ।
‘प्रहरीमा सुधार आवश्यक छ । अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन । कसैले मार्ग बिराएका भए तिनीहरुले आफूलाई सुधार्नुको विकल्प छैन । प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन,’ उनले भने– ‘अपराधको रोकथाम, अनुसन्धान, कुनैपनि बहाना र विकल्प बिना शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिक मनमा अमन चयन, कानूनी राज्यको प्रत्याभुति दिलाउन नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन दिनेछैन ।’