Logo
Logo

संगठनको आन्तरिक शुद्धिकरण पहिलो प्राथमिकताः आइजिपी कुँवर


1.2k
Shares


काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताएका छन् ।

अहिले संगठनका सामु समस्याका चाङहरू रहेको, संगठनको दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टङकारो आवश्यकता रहेको बताउँदै नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवम् सामूहिक प्रतिबद्धता जरूरी रहेको उनले बताए । व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उनको निर्देशन छ ।


उनले प्रहरी संगठनको साख र स्वाभिमान गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा पदबहालीस्थित निर्देशन दिदै यसका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए ।


‘म यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ–आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशिलताको अपेक्षा गर्दछु । संगठनको हित प्रति केन्द्रीत यहाँहरूको प्रयास र योजनाका लागि मेरो ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु,’ उनले भने,‘क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आवद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्छ ।’


नेपाल प्रहरी नागरिक प्रशासनको सबै भन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानूनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा संचालित हुनुको अर्को विकल्प नभएको उल्लेख उनको भनाई थियो । मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरूप नेपालको संविधान, प्रचलित ऐन–कानूनहरु र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको उनले बताए ।


गैर व्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने ‘अपराधीहरूलाई कानूनको दायरामा ल्याउने लगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरवाही र उदासिनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुनेछैन ।’ साथै सहकर्मी अधिकृतहरूलाई कुनै पनि पूर्वाग्रह र स्वार्थ बिना एकै साथ मिलेर, एक ढिक्का भएर संगठनको गरिमालाई थप उचाईमा पु¥याउन एकमतको सांगठनिक दूरदृष्टि बनाएर हरेक कदमसँगै हिँड्न समेत अनुरोध गरेका छन् । संगठनमा रहेका मातहत दर्जाका प्रहरी कर्मचारीहरूको भलाईका लागि गर्न सकिने सम्पूर्ण प्रयास गर्ने र जुनसुकै प्रहरी कर्मचारीले बिना हिच्किचाहट र व्यवधानका साथ आफ्नो वास्तविकता संगठन प्रमुख समक्ष राख्न सक्ने मैत्रीपूर्ण व्यवहार र वातावरणको सुनिश्चतता हुने उनको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्