Logo
Logo

शिक्षा र संस्कृतिमा स्वदेशी सपनाको मृत्यु हुने विष परेको छ : मन्त्री किराती


441
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिक्षा र संस्कृतिमा स्वदेशी सपनाको मृत्यु हुने विष परेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा ६२औँ रंगमञ्च दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री किरातीले नेपालीहरुले सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण शिक्षामा विष परेको बताए ।

‘हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ । स्थानीय सोचहरूलाई प्राथमिकता दिएनौँ । १२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरू विदेश जान्छन्, किन भन्दा रोजगार छैन भनेर होलाजस्तो लाग्थ्यो । तर, होइन रहेछ’, उनले भने, ‘हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ । सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ । शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ ।’

यस्तै उनले देश सोचेभन्दा फरक रहेको बताए । उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको भन्दै १० वर्ष सांसद हुँदा आफूले देशका बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए । उनले आफू ‘फेल’ भए युग र व्यवस्था नै फेल हुने मन्त्री किरातीको भनाई छ ।

मन्त्री किरातीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनले स्थान नपाउँदा पछि परिरहेको उल्लेख गरे । ‘देश जहाँ छोयो त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दै छु, देश अर्कै रहेछ । अझै अर्को रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो, हात्तीको होइन । हामी युगको परीक्षा दिँदै छौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्