काठमाडौं । प्रसाद २ फिल्मका निर्माता सुवास थापा फरार भएका छन् । निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेकोदेखि प्राविधिक तथा होमस्टेको समेत पैसा नतिरेको उनीविरुद्ध उजुरी छन् । तर, भूमिगत भएरै फिल्म चलाउने र उनीहरुको पैसा नतिर्ने थापाको रणनीति छ ।
थापा विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ परिसरका प्रहरी थापाको खोजीमा छन्।चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रभावमा पारेर उनी फिल्म चलाउने लागिपरेका छन् ।
प्रसाद फिल्म बनाएका थापाले प्रसाद–२ बनाउने घोषणा गर्दै निर्माता बनाउँछु भन्दै ठगी गरेका थिए। उनले छोराको नामको कम्पनीको नाममा फिल्म दर्ता गरेर निर्माता बनाउँछु भन्दै आफ्नो नामको कम्पनीबाट सहमति गर्दै ठग्दै आएका थिए। मेडिकल व्यवसायी केशवलाई ६२ लख ५० हजार ठगी गरेका हुन् । जसमा प्रहरीमा जाहेरी परेपछि थापा फरार छन् ।
पाण्डे मात्रै हैन फिल्मका कलाकारदेखि प्राविधिकसँगै फिल्म सुटिङ गरेको ल्वाङ गाउँका स्थानीयलाई समेत उनले ठगे। अहिले थापाविरुद्ध विकास बोर्ड, प्राविधिक सङ्घदेखि निर्माता सङ्घसम्म उजुरीको चाङ छ।
तर बोर्डका अध्यक्ष भुवन केसी लगायतकाहरु थापाबाट ठगिएको पैसा फिर्ता गराउन भन्दा उनले ठगीले बनाएको फिल्म प्रसाद–२ रिलिज गर्ने तयारीमा छन्। थापाका कारण सिंगो फिल्म क्षेत्र नै बदनाम हुन पुगेको छ भने फिल्मका कलाकार नै बेइज्जत हुने डरले प्रचारमा हिड्न सकेका छैनन् ।