काठमाडौं, २४ कार्तिक । मेगा बैंक नेपाल लिमिटेड ‘बैंक अफ दी एयर–२०१९’द्वारा अवार्डेड भएको छ । लण्डनमा शनिबार आयोजित कार्यक्रममा ‘दी बैंकर्स’ म्यागजिनले उक्त अवार्ड प्रदान गरेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जनाएकी छन् ।
नौ वर्षअघि स्थापना भएको यो बैंक नयाँ पुस्ताका लागि राम्रो बैंकमा गनिन्छ । १० अर्ब ३८ करोड चुक्ता पुँजी भएको यो बैंकको वासलात १०२ अर्ब रूपैयाँ बराबरको भएको छ । सर्वसाधारणले यस बैंकमा करिब ७९ अर्ब रुपैयाँ निक्षेप राखेका छन् ।
साथै, बैंकले सेयरधनीहरुलाई ११.७५ प्रतिशत नगद लाभांश दिने हालै घोषणा गरेको छ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५ र ७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।