Logo
Logo

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर प्रस्ताव पारित


315
Shares

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरको प्रस्ताव विशेष साधारणसभाले पारित गरेको छ । बुधबार बसेको दुवै कम्पनीको छुट्टाछुट्टै साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको हो ।

आइएमई जनरल इन्स्योरेन्सको विशेष साधारणसभामा अध्यक्ष हेमराज ढकालले हालको बिमा बजार तथा नियमन निकायबाट चुक्ता पुँजीसम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरी आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स गाभ्ने–गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भई सोहीबमोजिम विशेष साधारणसभा बोलाइएको जानकारी दिए । मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्र तथा डिडिए रिपोर्टसमेतका आधारमा सेयर अनुपात १ः१ कायम गरी दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नाममा कारोबार गर्ने उनको भनाइ थियो ।

प्रुडेन्सियल इन्स्योरेन्सले बोलाएको विशेष साधारणसभाले पनि मर्जरको प्रस्ताव पारित गरेको जनाएको छ । कम्पनीका अध्यक्ष विशाल अग्रवालले बजार र समितिको नीतिका कारण एक्लाएक्लैभन्दा दुई कम्पनी एक भएर अघि बढ्दा राम्रो हुने निष्कर्षसहित मर्जरको निर्णय गरिएको बताए ।

दुई कम्पनी मर्जरपछि चुक्ता पुँजी तीन अरब दुई करोड ९३ लाख रुपैयाँ पुग्ने र मर्जरपश्चात् कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय पहुँच, अनुभव, क्षमतालाई बढीभन्दा बढी उपयोग गरी सातवटै प्रदेशमा रहने शाखा सञ्जाललगायत डिजिटलको माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरू एक–आपसमा गाभिने निर्णय गरिएको दुवै कम्पनीको विशेष साधारणसभामा अध्यक्षले जानकारी दिएका थिए ।

नेपालमा रहेका दुई उत्कृष्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुपका साथै संस्थासँग आबद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्ने दुवै साधारणसभामा विश्वास व्यक्त गरिएको थियो ।

गाभिएपछि कम्पनीको अधिकृत पुँजी पाँच अर्ब रुपैयाँ र चुक्ता पुँजी तीन अर्ब दुई करोड ९३ लाख रुपैयाँ पुग्ने जनाइएको छ । त्यस्तै, शाखा सञ्जाल ८४, कर्मचारी संख्या पाँच सय १७ रहनुका साथै व्यवसायको आकार करिब चार अरब रुपैयाँबराबर पुग्ने जनाइएको छ । दुवै कम्पनीका विशेष साधारणसभामा प्रस्तावित विशेष प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्