जब नेता र जनताबीचको दूरी बढेर जान्छ, त्यो बेला नेताप्रतिको जनधारणा पनि बदलिन पुग्छ । जनसंघर्षका दिनहरूमा जनताको ओटालो, कौशी र मझेरी, खेतबारी र पँधेरीमा सँगसँगै रहेर परिवर्तनका आन्दोलन सफल पारेका नेताहरू सायदै गाउँ जान्छन् ।
धेरैजसो नेता–कार्यकर्ता संघ र प्रदेश राजधानी अनि जिल्ला सदरमुकाममा बस्ने गर्दछन् । साथै, स्थानीयस्तरका नेता–कार्यकर्ताको ध्यान समाजलाई बदल्नेभन्दा पनि आफू कसरी बदलिने ? भन्नेमा देखिन्छ ।
खैर, पछिल्लो समय पुराना केही दलहरूले विभिन्न नाम दिएर गाउँ केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् । यस्ता अभियानहरूको अभिप्राय र आसय के हुनुपथ्र्यो ? यस्ता अभियानहरूको मर्म र लक्ष्य के हुनुपथ्र्यो ? सतहमा आएका केही दृष्टान्तमाथि विमर्श गर्दा मुख्यतया तीनवटा पक्षलाई नजरअन्दाज गरेको देखिन्छ ।
रूपान्तरणकारी अभियान
१८औँ शताब्दीमा माक्र्स र एंगेल्सले १६औँ शताब्दीको समाजवादलाई काल्पनिक समाजवादको संज्ञा दिएर वैज्ञानिक समाजवादको अवधारणा अघि सारेका थिए ।
द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी ब्याख्याका आधारमा समाज विकासक्रमलाई वैज्ञानिक दृष्टिकोणबाट हेरेका थिए । वर्गसंघर्ष र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सुन्दर सपनाका साथ माक्र्स–एंगेल्सले समाजलाई बदल्ने उद्घोष गरेका थिए ।
माक्र्सले भनेका थिए, ‘आजसम्मका दार्शनिकहरूले समाज के हो ? भनेर ब्याख्या गरे । तर, जरूरत त्यसलाई कसरी बदल्ने भन्ने हो ।’
यही माक्र्सको भनाइलाई आधार मानेर राजनीतिक दलका गाउँ अभियानलाई हेर्ने हो भने आजका दिनमा पनि समाजकै ब्याख्या भइरहेको छ । समाज भनेको यो हो, समाजमा यति जातजातिका मानिस बस्दछन् । यति कृषक, यति शिक्षक, यति स्वास्थ्यकर्मी, यति कार्यकर्ता, यति सदस्य, यति विद्यार्थी यस्तै यस्तै..।
तर, आजको आवश्यकता के हो ? त्यसको ठोस विश्लेषण गरेर कुनै पनि राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियान सञ्चालन गरेका छन् भन्ने लाग्दैन ।
के राजनीतिक दलहरूले गाउँ पुगेका नेताहरूलाई समाज कति बदलियो ? समाजको यति र गति कति छ ? समाजमा दर्शनको दरिद्रता कति छ ? दलाली, भ्रष्टाचार, त्यसको कारण, परिणाम, जातीय विभेद र छुवाछूत, विभिन्न धार्मिक अन्धविश्वास, रूढवादी परम्परा, अन्याय, अत्याचार, शोषण, दमन, हिंसा, नातावाद, कृपावाद, डनवाद, धनवाद, पक्षपात कति छ ? त्यसको सत्य, तथ्य र निष्पक्ष रिपोर्ट लिएर आऊ ? भनेर अह्राएका होलान् ?
मलाई लाग्छ आजको नेतृत्वले यसरी कार्यकर्तालाई परिचालन गर्दैन । किनकि, नेतृत्वले सत्य बोल्ने कार्यकर्ताभन्दा खुट्टा मोल्नेलाई असली कार्यकर्ता ठान्छ । आज राजनीतिक प्रशिक्षणका अभियानहरू यसरी अघि बढिरहेको देखिन्छन् ।
हदै भए उसले संसद् विघटन गर्याे । उसले पार्टी फुटायो । फलानोले मालदार मन्त्रालय पायो । फलानोको सरकार ढल्यो । फलानो गठबन्धन भत्कियो । यो भन्दा पर पुगेर राजनीतिक प्रशिक्षण र अभियानहरू सञ्चालन भएका होलान जस्तो लाग्दैन । एउटाले अर्कोलाई सत्तो सराप गर्ने तातो न छारोको अभियान बनेको छ ।
एकीकृत समाजवादी, माओवादी र एमाले पार्टीले सञ्चालन गरेका अभियानहरूमा प्रायः केन्द्रीय नेताहरू गाउँ नै पुगेनन् । पुगेकाहरू धेरै दिन गाउँमा बसेनन् । हतार–हतार राजधानीतिरै फर्किए । वास्तवमा आज गाउँमा पुग्ने नेता कार्यकर्ताले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका अभियानहरू, प्रशिक्षणहरू सञ्चालन गर्नुपथ्र्यो ।
पुरानो जडताबाट माथि उठ्दै गरेको समाजले सुन्नेगरी भन्नुपथ्र्यो, ‘धर्म जान्ने, विज्ञान किन नमान्ने ? जात मान्ने, विज्ञान किन नमान्ने ? छोरा जन्मिदा धुमधाम, छोरी जन्मिदा सुनसान किन ?’ बिडम्बना, गाउँ पुगेका नेताहरूले देउता पुज्ने, भाकल गर्ने, छोरा जन्मिएको खुसीयाली खानेमा व्यस्त देखिए ।
तर, छोरी जन्मदिएकी आमाले भोग्नुपरेको सामाजिक अन्यायका बारेमा कसैले बोलेनन् । जातीय छुवाछूतका विरुद्ध कुनै पनि राजनीतिक दलहरूले खुलेर अभियान सञ्चालन गरेनन् । पुरानो जडतामा बाँचिरहेको समाजका पिलरमाथि धक्का प्रहार गर्ने गरी अभियानहरू सञ्चालन गर्नु आजको आवश्यकता हो ।
यस्ता अभियानहरूमार्फत परिर्वतन, संघीयता, लोकतन्त्र, गणतन्त्र र समाजवादी शासनका विरुद्ध चलाइएका सुनियोजित हल्ला, षड्यन्त्रलाई चिर्न सक्नुपथ्र्यो । अर्थात् रूपान्तरणकारी अभियानहरूबिनाको गाउँ अभियानको के अर्थ ?
विगतको समीक्षा र पाठ
यस्ता राजनीतिक अभियानहरूको मूल आसय मुलतः दलहरूप्रतिको जनविश्वास बढाउनु हो । जनताबीचको दूरी नजिक बनाउनु हो । आफ्ना नीति, सिद्धान्त, विचार पढाउनु हो ।
जनता राजनीतिक चेतनामाथि उठाउनु पनि हो । जसको निम्ति विगतको समीक्षा गर्नुपर्ने हुन्छ । साथै विगतबाट पाठ सिक्दै आगतलाई सुन्दर बनाउनका निम्ति राजनीतिक अभियानहरूको भूमिका निकै महत्वपूर्ण हुन्छन् ।
खासगरी २०६२–६३ सालको आन्दोलनपछि नेपालका राजनीतिक दलहरूले लिनुपर्ने अर्थ व्यवस्था कस्तो हुनुपथ्र्यो ? त्यसको गहिरो गरी समीक्षा गर्न जरूरी छ । राजनीतिक दलहरूको कार्यदिशा, सार्वजनिक संस्थान, कर्मचारी प्रशासन, शासकीय संरचनागत परिर्वतन गरियो कि गरिएन ? यसका बारेमा समीक्षा गरेर गाउँ अभियानहरू सञ्चालन गर्दा सकारात्मक सन्देश प्रवाह हुन्थ्यो ।
वर्तमान अवस्थाको विश्लेषण
खासगरी समाजवादी विचारधाराका राजनीतिक दलहरूले जनताका बीचमा जाँदा वर्तमान अवस्थाको ठोस् विश्लेषण गर्नुपथ्र्यो । सही र सटिक ब्याख्या हुनुपथ्र्यो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा ठोस विश्लेषण गरेर यस्ता अभियानको सार्थकता खोज्ने प्रयास गरिनुपथ्र्यो ।
आजको जनताको परिणाममुखी बनेको छ । रिजल्ट चाहन्छन् । डेलिभरी चाहन्छन् । पछि होइन, आजै, अहिले नै । यस्तो उत्कट चाहना र आवश्यकताको भोका जनतालाई आजको दिनमा विचार र सिद्धान्तको पाठ पढाएर मात्र काम छैन ।
आजका जनतासँग राजनीतिबारे बुझ्ने र सुन्ने सायदै समय छैन । त्यसैले आजको आवश्यकता के हो ? त्यसको गम्भीर विश्लेषण गरेर राजनीतिक अभियान सञ्चालन गरेको भए राम्रो सन्देश जान्छ ।
देशमा केही छैन, देशले केही दिएन, नेताले देश बिगारे, लुटे आदि नकारात्मक कुराले गाउँले जनताको दिमाग भरिएको छ ।
यस्ता कुराहरूको बारेमा निर्मम समीक्षा नगरी सञ्चालन गरिएका अभियानहरूले खासै परिणाम दिँदैनन् । पहिलो पुस्ताले देशको नेतृत्व र विकास गर्न सक्दैन भन्ने जबर्जस्त भाष्य निर्माण भएको छ । यसको उदाहरणका लागि अर्थशास्त्री स्वर्णिम वाग्लेलाई लिन सकिन्छ ।
नयाँ र वैकल्पिक शक्ति भनिएका दलहरूप्रतिको बढ्दो जनआकर्षणमाथि पुराना दलहरूले समीक्षा गरेको देखिन्न । यसरी राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र प्राविधिक पक्षमाथि ठोस विश्लेषण नगरीकन सञ्चालन गरिएका राजनीतिक अभियानहरू नामकाजी नभएर के हुन्छन् ?