एजेन्सी । म्यानमारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । २ वर्षअघि सैन्य कू विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा मंगलबार सेनाले हवाई आक्रमण गरेको हो ।
आक्रमणमा बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको र अरु थुप्रै मानिस घाइते भएको बताइएको छ । स्थानीय तथा प्रत्यक्षदर्शीहरूले यस आक्रमणलाई सैन्य कू भएयताकै घातक आक्रमण भनेका छन् ।
अलजजिरामा प्रकाशित समाचार अनुसार स्थानीयहरू एक प्रशासनिक कार्यालयको उद्घाटन समारोहका लागि भेला भइरहेका बेला मंगलबार बिहान ७ बजेर ३५ मिनेटमा सैन्य आक्रमण भएको हो ।
बीबीसीको समाचारमा भने आक्रमणबाट ५३ जना मारिएको उल्लेख छ । जहाँ कम्तीमा १५ जना महिला र केही बालबालिका रहेको बताइएको छ ।
मृत्यु हुनेहरू अधिकांश आम नागरिक थिए । घटनास्थलमा उद्धार कार्य भइरहेको बेला पनि दोस्रो आक्रमणबाट तीन जना मारिएका थिए । आक्रमणबारे म्यानमारको सेनाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
म्यानमारमा सैन्य कू का नेता मिन आङ ह्विङले गत महिना आफ्नो शासनविरुद्ध लडिरहेका आतंकवादीहरू माथि निर्णायक कारबाही गर्ने चेतावनी दिएका थिए ।
म्यानमारमा आङ सान सूचीको पार्टीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले २०२१ फेब्रुअरी १ मा कू गरेको थियो ।
त्यसयता भएका विभिन्न प्रदर्शनमा हजारौंको मृत्यु हुनुका साथै हजारौं मानिस घाइते र ठूलो संख्यामा पक्राउ परेका छन् । यसबीचमा दस लाखभन्दा धेरै मानिस विस्थापित भएका छन् ।