Logo
Logo

फ्रान्सका राष्ट्रपतिप्रति ट्रम्पको टिप्पणी- म्याक्रोँले सीको नितम्ब चुमे


एजेन्सी

1.5k
Shares

वासिंगटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चिनियाँ राष्ट्रपति सी चिनफिङको नितम्बमा चुम्बन गरेको टिप्पणी गरेका छन् । फ्रान्सेली राष्ट्रपतिको हालैको चीन भ्रमण र त्यहाँ रहँदा उनले आफ्ना चिनियाँ समकक्षीसँग गरेको भेटवार्तालाई लिएर ट्रम्पले यसरी यस्तो व्यंग्य गरेका हुन् ।

आफूमाथि फौजदारी अभियोग लागेपछि पहिलोपटक मुख्यधारको ‘मिडिया’ फक्स न्यूजसँगको एक अन्तर्वार्तामा रिपब्लिकन पार्टीका सम्भावित राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले ‘म्याक्रोँ आफ्नो मित्र भएपनि उनले चीनलाई साथ दिएका छन् । उनले सीको नितम्ब चुम्बन गरेका छन् । ठीकै छ । फ्रान्स अब चीनको समर्थक भएको छ’ फ्रान्सेली राष्ट्रपतिको अमेरिकी नीतिमा युरोपेली मुलुकहरू आबद्ध हुननहुने अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने । आफू ह्वाइट हाउसबाट बाहिरिएपछि अमेरिकाले संसारबाट आफ्नो प्रभाव गुमाएको पनि उनले बताए ।

चीन भ्रमणबारे पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोँले ताइवानको विषयलाई लिएर बेइजिङ र वासिङ्टनबीचको द्वन्द्वमा युरोपेली देशहरू फस्न नहुने बताएका थिए । गत साता चीनको राजकीय भ्रमणपछि सार्वजनिक भएको उनको यो अभिव्यक्तिको विश्वभर चर्चापरिचर्चा भइरहेको छ ।

आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । चीनले यसलाई आफूबाट अलग भएको आफ्नै प्रान्तका रूपमा लिएको छ ।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ । अमेरिकाले ताइवानलाई आफ्नो रक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ताइवानलाई लिएर युरोपले अमेरिकी नीतिको अनुशरण गर्न नहुने अप्रत्याशित सुझावलाई चीनमा यो साता ‘उज्ज्वल निर्णय’को रूपमा स्वागत गरिएको छ । चिनियाँ सञ्चारमाध्यम, समाचार र सामाजिक सञ्जालमा उनका स्वतन्त्रत अभिव्यक्तिको प्रशंसा गरिएको छ । उनको ‘रणनीतिक स्वायत्तता’लाई चिनियाँ सञ्चारमाध्यमले उच्च प्राथमिकता दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा सञ्चालित ग्लोबल टाइम्सले सोमबार प्रकाशित गरेको एक टिप्पणीमा राष्ट्रपति म्याक्रोँको स्पष्ट एवम् दीर्घकालीन सोच, वस्तुनिष्ठ एवम् तर्कसङ्गत अभिव्यक्ति युरोपको हितमा रहेको जनाएको छ ।

उनको त्यो अभिव्यक्तिलाई युरोपेलीहरूको वास्तविक आवाजका चित्रण गरिएको छ । ‘युरोपेली सङ्घको रणनीतिक स्वायत्तता र नयाँ शीतयुद्धको प्रतिरोध गर्ने राष्ट्रपतिको भनाई भविष्यमा एक उत्कृष्ट निर्णय साबित हुनेछ’ टिप्पणीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्