Logo
Logo

घर भूकम्पले भत्कियो, ४ वर्षदेखि छिमेकीको घरमै बास


- दृष्टि न्युज/संवाददाता

0
Shares

बनेपा, २७ कार्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता लिएर घर बनाउने समय कात्तिक मसान्तको समयसीमा तोकेको छ, तर, कोही भने भूकम्पले घर पूर्णरुपमा ध्वस्त भएपछि छिमेकीको घरमा बस्दै आएका छन् । आफ्नो घर कहिले बन्ने हो थाहा छैन । पाँचखाल नगरपालिका–६ का देवीकुमारी पौडेलले भूकम्पले घर भत्किएपछि अझै घर बनाउन पाएका छैनन् ।
भूकम्प गएपछि सर्वेक्षणको लागि गाउँमा खटिएका इञ्जिनीयरले गरेको गल्तीका कारण घर पूर्णरुपमा ध्वस्त भए पनि विवरणमा अर्कैको घरको फोटो खिचेर भरेको कारण प्रवलीकरणमा परेपछि घर निर्माण गर्न नपाएका हुन् । ‘उता घर भत्केर बस्ने ठाउँ छैन, यता अर्काको घरमा बसिरहेकी छु, प्राधिकरणले प्रवलीकरण गर्नुपर्छ भन्दैछ’, उनले भने, ‘मेरो घर भत्केर जग मात्रै छ, गाह्रोसमेत छैन, तर इञ्जिनीयरले पठाएको विवरणमा लाभग्राहीको सूचीमा प्रवलीकरण गर्नुपर्ने भनेर आएपछि विवरण सच्याई पाउँ भनेर पुनःनिर्माण प्राधिकरण धाएको चार वर्ष बित्यो तर अझै घर निर्माण गर्न पाउने हो कि होइन भन्ने टुंगो लागेको छैन ।’ अब चाही भरेर पठाएको विवरण सच्चिएर आउँदा हुन्छ भन्ने छ, खै के हुन्छ, हेरौँ ।’
‘अहिले पछिल्लो चरणमा फेरि गाउँका मान्छेहरु बोलाएर सर्जि्मिन गर भनेर भनेकाले अहिले त्यहीअनुसारले विवरण तयार गरेर भत्केको घरको जगको फोटोसहित खिचेर वडाबाट सबै कागजात तयार गरेर पेश गरेपछि हुन्छ भन्ने कुरा आएको छ, त्यसैले खुशी छु’ पौडेलले भने, ‘एकल महिलासमेत रहेकी उनी सरकारबाट भूकम्पको पैसा आयो भने जग्गा बेचेरै बस्नको लागि भूकम्प प्रतिरोधी घर राम्रो बनाएर बस्ने ठूलो इच्छा भएको बताउँछिन् । ‘गरिखान सकिँदैन, बस्ने ठाउँमात्रै भए पनि बलियो भयो भने त केही न केही त हुन्छ नि’ उनले भनिन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले आफू कार्यालय प्रमुख भएर आएपछि सो कुरा थाहा पाएको र तयार गर्नुपर्ने विवरण सबै तयार गर्न लगाएर केन्द्रमा पठाएपछि त्यहीअनुसार हुन्छ भन्ने कुरा आएको कारण अब घर बनाउन शुरु गर्न सुझाव दिएको बताए । कार्यालयमा नै आएका पौडेललाई भने, ‘अब तपाईले घर बनाउन शुरु गर्नस्, यताबाट गर्नुपर्ने काम हामी गरिदिन्छौँ ।’
छोराहरु भए पनि विगतदेखि नै एक्लै बस्दै आएका उनको घर भूकम्पले भत्काएपछि छिमेकी प्रदीप पौडेलको घरमा बस्दै आएका छन् । केन्द्रमा चार पटक र जिल्लामा पटक÷पटक धाउँदै आएका उनी अब भने केही आशावादी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्