Logo
Logo

बंगलादेशका राष्ट्रपति हमिद भेटघाटमा व्यस्त, यस्तो छ आजको ‘शेड्युल’


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

काठमाडौं, २७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चार दिवसीय नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका बंगलादेशका राष्ट्रपति महोमद अब्दुल हमिद भेटघाटमा व्यस्त छन् । काठमाडौं ओर्लिएकै दिन भक्तपुर स्क्वेयर दरबार अवलोकन तथा भ्रमण गरेका राष्ट्रपति हमिदको आज बुधबार निकै व्यस्त हुनेछन् । उनी बुधबार नेपाल र बंगलादेशबीच हुने उच्चस्तरीय भेटवार्तामा सामेल हुँदैछन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न ४ः३० बजेदेखि ५ः०० बजेसम्म राष्ट्रपति भण्डारी र बंलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ भने उक्त भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद त्यसपछि राष्ट्रपति भण्डारीले गर्ने स्वागत रात्रिभोजमा हुनेछन् । रात्रिभोज याक एण्ड यती होटलमा साँझ ८ः १५ बजे आयोजना गरिएको छ ।
त्यसभन्दा अघि अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रपति हमिदले शिष्टाचार भेटवार्ता गर्नेछन् ।
नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिदसँग आजै दुईदेशीय सम्पर्क सञ्जाल, व्यापार र पर्यटनका प्रमुख विषयमा समझदारी हुने जनाइएको छ । साथै, हवाई सम्पर्क विस्तारका लागि विराटनगर वा भद्रपुरबाट बंगलादेशको सैदपुर विमानस्थलमा क्षेत्रीय प्रकारको उडान सम्पर्क सुरु गर्नका लागि पहल हुनेछ ।
बंगलादेशसँग सहुलियतपूर्ण व्यापार सम्झौता (पीटीए) गर्ने प्रक्रियामा नेपाल रहेको र यसमा वाणिज्य सचिवस्तरीय सैद्धान्तिक सहमति भैसकेको छ । त्यसलाई कार्यान्वयनमा ल्याउने विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्