काठमाडाौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले सगरमाथा आरोहरण गर्ने भएका छन् । राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा फहराउन आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न गर्न लागेका नेपालीलाई शुभकामानसहित प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले झण्डा हस्तान्तरण गरेका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले यस आरोहण मार्फत इन्टरपोलको सदस्य राष्ट्रहरूको शान्ति सुरक्षा, अपराध अनुसन्धान एवम् नियन्त्रणमा भएको प्रतिवद्धताप्रति नेपाल प्रहरीको पनि पूर्णरूपमा ऐक्यबद्धता रहेको सन्देश तथा पर्यटकहरूको सुरक्षाको अनुभूति हुने सन्देश समेत प्रवाह हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले आरोहण सम्बन्धी सङ्क्षिप्त जानकारी दिए । उक्त आरोहणको लागि प्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०७९ फागुन २६ गतेको निर्णयानुसार स्वीकृत भई आए पश्चात माउन्टेनियरिङ तालिम प्राप्त गरी ६ हजार ४७६ मिटर उचाईको मिरा पिक लगायत अन्य हिमालहरू सफलतापूर्वक आरोहणको अनुभव प्राप्त गरेका प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली उक्त आरोहणको लागि छनौट भएको र उक्त आरोहणको लागि इलाइट हिमालयन एडभेन्चरसँग सहकार्य गरिएको छ ।
सन् १९२३ मा अष्ट्रियाको भियनामा स्थापना भएको इन्टरपोलले सफलतापूर्वक १००औं वसन्त पूरा गरेको अवसरमा इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा नेपाल प्रहरीले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउने योजना अन्तर्गत विश्व सम्पदा सूचीमा सूचिकृत सर्वोच्च शिखर सगरमाथामा नेपाल प्रहरीका कर्मचारीले आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डाहरू फहराउन लागिएको हो ।