रुपन्देही । ट्रेडमार्क कपी राइट र ब्याच नम्बर नराखी उपभोक्ता ठगी गरेको भन्दै कैलालीको लम्कीमा रहेको जानुका एण्ड सन इण्डष्ट्रिज प्रालिविरुद्ध मुद्दा परेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–१, चैनपुरमा रहेको न्यू घडी सर्फ उद्योगका संचालक पशुपतिप्रसाद कानुले जानुका एण्ड सनविरुद्ध जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दर्ता गरेका हुन् ।
जानुका एण्ड सन इण्डष्ट्रिज प्रालिले न्यू घडी सर्फ उद्योगको टे«डमार्क कपी राइट गरेको कानुको आरोप छ । कानुको उद्योग न्यू सर्फ २०६० सालमा उद्योग विभागमा दर्ता भई ट्रेडमार्क लिएर संचालनमा छ । तर, कैलालीको लम्कीमा रहेको जानुका एण्ड सनले न्यू सर्फको ट्रेडमार्कको दुरुस्त कपीराइट गरी सरफ उत्पादन गरेको पाइएपछि प्रशासनमा मुद्दा दर्ता गरेको कानुले जनाए ।
‘मैले सबै कानुनी प्रक्रिया पूरा गरेर विगत २० वर्षदेखि उद्योग संचालन गर्दै आएको छु’, न्यू सर्फका संचालक कानुले भने, ‘तर, कैलालीको जानुका एण्ड सनले ट्रेडमार्क कपीराइट गरेर बजार भरी आफ्नो उत्पादन बिक्री गरिरहेको छ । यसकाविरुद्ध म उद्योग विभागमा पनि मुद्दा हाल्छु ।’ कानुनतः अन्य कम्पनीको ट्रेडमार्क कपीराइट गर्न पाइँदैन ।
कपिराइट गरेको प्रमाणित भए विभागले उत्पादन रोकेर कपीराइट गर्नेबाट क्षतिपूर्ति भराउन सक्छ । न्यू सर्फले २० वर्षदेखि ‘हरा पत्ता’ नाममा सरफ उत्पादन गर्दै आएको छ । तर, जानुका एण्ड सनले ट्रेडमार्क कपी गरेर ‘हरी–पाती’ नामक सरफ उत्पादन गरिरहेको कानुको दावी छ । ट्रेडमार्क कपीराइट गरेको आरोप लागेको जानुकाले कैलालीबाट अहिले आफ्नो बजार विस्तार गरेर रुपन्देहीसम्म बिक्री गरिरहेको छ । ‘कानूनीविपरीत अर्कैको टे«डमार्क चोरी गरेर जानुकाले बजार विस्तार गर्दा म निकै मर्कामा छु’, कानुले भने, ‘जानुकालाई कारबाही हुनुपर्छ र मैले क्षतिपूर्ति पाउनुपर्छ ।’
जानुकाले उत्पादन गरेको हरी–पाती नामको आफ्नो ब्राण्डमा उत्पादन मिति, एक्सपायर मिति, तौल, मूल्य नराखी बिक्री गरिरहेको छ । यस्तै, उपभोक्तालाई झुक्याउन जानुकाले एक किलोको प्याकेटमा ८ सय ग्राम सरफ राखेर बिक्री गरिरहेको पाइएको स्थानीयले बताएका छन् ।
रुपन्देहीका स्थानीय प्रेम बस्नेतले भने, ‘मैले हरा पत्ता भनेर किनेको हरी–पाती रहेछ, त्यसमा न मूल्य छ, न त तौल नै । एक किलोको प्याकेट भनेर किनेको तौल जम्मा ८ सय ग्राम रहेछ ।’
कानुले ट्रेडमार्क कपीराइट गरी ब्याच नम्बरसमेत नराखी बजारमा आएको हरी–पातीको डिलर बनेर बिक्री वितरण गर्ने रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियास्थित नन्द रुपा सप्लायर्सकाविरुद्ध पनि जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालेका छन् । ‘उत्पादन मिति, एक्सपाएर मिति, मूल्य, तौल आदि उल्लेख नगरी तथा नलेखी बजारमा बिक्रीवितरण गरी उपभोक्तामाथि चरम ठगी गरेको जानुका एण्ड सनको उत्पादन कानुन बमोजिम जफत–रोक्का गर्नुका साथै बजारीकरण रोक्का गर्न एवं उक्त इण्डष्ट्रिज र विपक्षी संचालकमाथि उपभोक्ता ठगी ऐन एवं पेटेन्ट डिजाइन र ट्रेडमार्क कपीराइट अन्तर्गत प्रचलित आवश्यक कानुन बमोजिम कारबाही गर्न माग गर्दछु’, जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा कानुले दायर गरेको मुद्दामा भनिएको छ ।
कानुले जिल्ला प्रशासनमा जानुका एण्ड सनको उत्पादन हरी–पाती र न्यु सर्फको उत्पादन हरा पत्ताको प्याकेटसमेत उपलब्ध गराएर कारबाहीको माग गरेका छन् । उनले अब आफू कानूनी रुपमा अघि बढेको जनाउँदै उद्योग विभागमा पनि मुद्दा दर्ताको तयारी गरेको बताए । जानुका एण्ड सन्स संजय बुढाथोकीको नाममा दर्ता छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानुकाले टे«र्डमार्क कपीराइट गरेकाबारे उद्योग विभागमा जानकारी गराइएको बताए । उनले कैलाली जिल्ला प्रशासनमा पनि यसबारे जानकारी गराएको र ब्याच नम्बर नलेखी बिक्री गरिएको सरफ जफत गरिने बताए । ‘कैलाली प्रशासनले पनि यसबारे कानुनी प्रक्रिया अघि बढाउनेछ’, उनले भने, ‘रुपन्देहीमा उत्पादन मिति, एक्सपाएर मिति, मूल्य, तौल नलेखी बिक्री गरिरहेको जानुका एण्ड सनको उत्पादन हरी–पाती हामीले जफत गर्छौं । उपभोक्तामाथि ठगी गर्ने कानुनी दायरामा आउँछन् ।’
ट्रेडमार्क कपिराइटको आरोप लागेको जानुका एण्ड सनको उत्पादन हरी–पातीका संचालक बुढाथोकीले आफूहरूले उद्योग विभागबाट अस्थायी प्रमाणपत्र लिएर उत्पादन सुरु गरेको दाबी गरे । उनले उत्पादन मिति, एक्सापायर मिति, तौल नराखी बिक्री भएकाबारे आफ्नो गल्ती स्वीकारे । अब ब्याच नम्बर राखेर मात्रै बिक्री गर्ने उनले जनाए । ‘हाम्रो कमजोरी भयो, यसलाई सुधार्छौं’, उनले भने, ‘टे«डमार्कको बारेमा भने अनुमति लिएका छौं ।’