काठमाडौं । आरजु देउवाको चाहना नहुँदा नहुँदै परराष्ट्रमन्त्रीमा एनपी साउदले बाजी मारेका छन् । त्यसो त साउद पनि डडुलधुराकै हुन् तर उनी कञ्चनपुर झरेर त्यहाँबाट चुनाव लड्दै आएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विद्यार्थीकाल देखि नै साउदले साथ दिए । उनी कलिलो उमेरमै नेविसंघको सभापति बने । देउवाको साथ पाएर उनले उक्त पद हासिल गरेका थिए । विद्यार्थी राजनीतिबाट आएकाले साउदको संगठनमा बलियो पकड छ । उनलाई देउवा पक्षधरले उनीपछिको सुदूरपश्चिमका नेता देखेका छन् ।
साउदले पदभार ग्रहण गर्नेवित्तिकै भारत भ्रमणको कुरा गरेका छन् । प्रधानमन्त्री प्रचण्डको वैशाखभित्र भारत भ्रमण हुने लगभग तय छ । यसको औपचारिक घोषणा गर्न मात्र बाँकी छ । तर, साउदलाई नै किन परराष्ट्रमन्त्री बनाइयो भन्नेमा चासो बढेको छ ।
उनी परराष्ट्र मामलाका जानकार पनि होइनन् । तर, साउद परराष्ट्रमन्त्री बनेलगत्तै भारतबाट स्थलमार्ग हुँदै उनको चुनावी क्षेत्र कञ्चनपुरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाला आइपुगेका छन् ।
उनी २ वैशाखबाट चलिरहेको मानसखण्ड र नेपाल भारत सम्बन्धसम्बन्धी संगोष्ठीको समापनमा सहभागी हुन आइपुगेका हुन् । संगोष्ठीको आयोजक भारतको राष्ट्रिय स्वयंसेवक संघसँग नजिक रहेको नेपालको हिन्दू स्वयंसेवक संघसँग सम्बन्धितहरु नै छन् । रोचक त यो छ कि संघसँग साउदको निकै घनिष्ठ सम्बन्ध छ ।
पछिल्लो समय काँग्रेसभित्र हिन्दूराष्ट्रको मुद्दालाई एनपी साउदले उठाइरहेका छन् । उनै साउद परराष्ट्रमन्त्री भएलगत्तै चौथाइवाले नेपाल पस्नु र प्रचण्डको भारत भ्रमण पनि लगभग टुंगो लाग्नु अर्थपूर्ण रहेको छ । साउदले दक्षिणको छिमेकसँग कूटनीतिक तहमा दरिलोसँग कुरा राख्न सक्ने देखेर पनि देउवा उनलाई अगाडि बढाउन तयार भएको बुझिएको छ ।
प्रचण्ड पनि साउदको पक्षमा सकारात्मक बनेका छन् । साउदले देउवालाई नै आफ्नो ‘गडफादर’ मान्ने गरे पनि आरजु राणासँग असन्तुष्ट रहँदै आएको बताइन्छ । तर, उनको संगठनमा पकड र बाह्य सम्बन्धका कारण पनि परराष्ट्रमन्त्रीमा बाजी मारेका हुन् ।