काठमाडौं । गत पुस ११ गते सपथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत आइतबार आठौँ पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । कांग्रेसका सांसद एनपी साउद परराष्ट्रमन्त्री र एकीकृत समाजवादीकी नन्दा चपाईँ भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका हुन् । तर, अझै मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।
कांग्रेसको आन्तरिक किचलोले अझै कति समय मन्त्रिपरिषद अपूर्ण रहने हो टुंगो छैन । जसको प्रभाव सरकारी सेवा प्रवाहमा देखिएको छ । सरकारी कार्यालयमा ढिलासुस्ती व्याप्त छ । महंगी ह्वात्तै बढेको छ । प्रधानमन्त्री प्रचण्डले काम गरेर देखाउने प्रतिवद्धता जनाए पनि व्यवहारमा उतार्न सकेका छैनन् ।
प्रधानमन्त्री प्रचण्डले जिम्मेवारी सम्हालेका कतिपय मन्त्रालयका सचिवलाई भेट्न समयसमेत दिन नसकेको मन्त्रालय स्रोतले बताएको छ । सचिवहरू प्रधानमन्त्रीले कहिले समय देलान र कुरा राख्न पाइएला भनेर बसेका छन् ।
यसका कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको किचलोले पनि काम गरेको छ । जसपा पनि थप एक मन्त्रालय वैशाख १० को उपनिर्वाचनपछि मात्रै सम्हाल्ने निचोडमा पुगेको छ । जसका कारण अझै ५ मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा छ ।
कांग्रेसले ८ मन्त्रालय पाएकोमा सभापति शेरबहादुर देउवा पक्षका ५ जना मन्त्री भइसकेका छन् । शेखर–गगन समूहबाट ३ जना मन्त्री बन्नेछन् । तर, आन्तरिक किचलोका कारण शेखर–गगन गुटले मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन् । देउवाले मन्त्रीको नाम दिन आग्रह गरे पनि शेखर–गगन समूहले वैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै नाम दिने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको कोटामा पनि एक मन्त्री बन्ने भएका छन् । राष्ट्रपतिको कोटाबाट सुरेन्द्र आचार्यलाई सरकारमा पठाउने तयारी रहेको स्रोतले बतायो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शेरधन राई, डोरमणि पौडेललगायतलाई मन्त्री, मुख्यमन्त्री बनाएकी थिइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको कोटामा पनि एक मन्त्री बन्ने भएका छन् । राष्ट्रपतिको कोटाबाट सुरेन्द्र आचार्यलाई सरकारमा पठाउने तयारी रहेको स्रोतले बतायो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शेरधन राई, डोरमणि पौडेललगायतलाई मन्त्री, मुख्यमन्त्री बनाएकी थिइन् ।
कांग्रेसमा मोहनबहादुर बस्नेत, धनराज गुरुङ र डिकबहादुर लिम्बु, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, हृदयराम थानी, दीपक गिरी, रामनाथ अधिकारी, सन्तोष चालिसे, सञ्जय गौतम, दिलेन्द्रप्रसाद बडु, राजन केसी, तेजुलाल चौधरी, सरिता प्रसाईंलगायतले दाबी गरेका छन् । मन्त्रीको कोटा थारै र आकांक्षी धेरै भएपछि नाम छान्न समस्या परेको एक नेताले बताए ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकासमन्त्री छन् । प्रधानमन्त्री प्रचण्ड छिमेकी देश भारत भ्रमणमा जाने तयारीमा रहेकाले साउदलाई परराष्ट्रमन्त्री बनाइएको स्रोतले बताएको छ । उनी देउवाका विश्वासपात्र हुन् । मन्त्री नियुक्त भएलगत्तै उनलाई भारतका विदेशमन्त्री एस जयशंकरले बधाई दिएका थिए ।
प्रधानमन्त्रीको शपथ लिएकै दिन पुस ११ गते प्रचण्डले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेतालाई सहभागी गराउँदै आठ सदस्यीय मन्त्रिपरिषद् गठनका गरेका थिए । त्यसपछि माघ ३, १४, २३, फागुन १४, १६ र चैत १७ गते मन्त्रिपरिषद पुनर्गठन गरेका थिए ।
दुईमन्त्री थपिएपछि मन्त्रिपरिषद् १९ सदस्यीय बनेको छ । माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत उर्जामन्त्री, रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती पर्यटनमन्त्री र अमनलाल मोदी संघीय मामिलामन्त्री छन् ।
माओवादीकी सुशीला शेर्पाली पर्यटन राज्यमन्त्री छिन् । एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल कृषिमन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् । जसपाबाट अशोक राई शिक्षामन्त्री, लोसपाका शरतसिंह भण्डारी श्रम र नागरिक उन्मुक्ति पार्टीकी रंजिता श्रेष्ठ भूमि व्यवस्थामन्त्री छन् ।
कांग्रेस र जसपाबाट नाम आएपछि मन्त्रिपरिषदले पूर्णता पाउने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए । जसपा अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार छन् । उनी निर्वाचित भएपछि आफैँ उपप्रधानमन्त्रीसहित सरकारमा जाने तयारीमा रहेको स्रोतले बताएको छ ।