काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि न्यौपाने एकपछि अर्काे विवादमा परेका छन् । प्रमाण हुँदा हुँदै पनि अभियुक्तहरुलाई जोगाउन थालेपछि उनी विवादमा परेका हुन् ।
हालै उनले मानव बेचबिखन मुद्दामा पक्राउ परेका एक अभियुक्तलाई छाडिदिएका छन् । नेपाली महिलालाई कुवेतमा लगेर बिक्रि गरेको आरोपमा पक्राउ परेका सिनामंगलस्थित डिएचएन ट्राभलका सञ्चालक चिरञ्जी गिरीलाई सरकारी वकिल कार्यालयले मुद्दा नचलाई छाडिदिएको हो ।
मानब बेचबिखन अनुसन्धान ब्यूरोले गत २ फागुनमा उनलाई पक्राउ गरेको थियो । एक महिलालाई कुवेतको रोयल रेष्टुरेन्टमा काम लगाइदिने भन्दै त्यहाँ पु¥याएर बिक्रि गरेका थिए । पछि ती महिलाको नेपाली दूतावासको सहयोगमा उद्धार भएपनि उनले नेपालमा उजुरी दिएकी थिइन् । जसआधारमा लालबहादुर मगर लगायतलाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढायो ।
जसक्रममा विमानस्थलमा सेटिङदेखि सबै काम उनै ट्राभल सञ्चालकले गरेको खुलेपछि उनलाई पक्राउ गरेको थियो । तर, उनी सेटिङ मिलाएर छुट्न सफल भएका छन् । सहन्यायाधीवक्ता न्यौपानेले नै उनलाई जोगाएको स्रोत बताउँछ । तर, अर्काे एक मुद्दामा भने उनलाई फरार प्रतिवादी बनाई मुद्दा दायर भइसकेको छ ।
यो त एउटा उदारण मात्र हो । जिल्ला सरकारी वकिल कार्यालयमा अभियोजनका क्रममा खुलेआम बार्गेनिङ चल्ने गरेको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पनि नाइकेहरुलाई जोगाउन उनै न्यौपाने सक्रिय छन् ।
सरकारी वकिल कार्यालयमा भएको बयानमा प्रतिवादीले केही उच्च पदस्थको नाम उल्लेख गरेपनि उनीहरुको नाम हटाइएको थियो । तर, संगठित अपराध ऐनअनुसार पनि अभियोजन हुनुपर्ने माग प्रहरीको भएकोमा उनले त्यसलाई अस्वीकार गरि छिटो मुद्दा अघि बढाउन खोजेका छन् ।
त्यस्तै, तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको घटनामा पनि सरकारी वकिल प्रतिवादीकै सहयोग ीबनेको छ । यसमा जिल्ला प्रशासनका एक नासु पक्राउ परेपनि नागरिकतामै हस्ताक्षर गर्ने अन्य कर्मचारीलाई पनि प्रहरी र सरकारी वकिलको मिलेमतोमा उन्मुक्ति दिइएको छ ।
ठूला व्यक्ति जोडिएका हरेक जसो मुद्दामा सरकारी वकिल कार्यालयमा लेनदेन हुने गरेको स्रोत बताउँछ । जसकारण पहुँचवालाको फाइल छिटो र पैसा दिन नसक्नेको अन्तिम दिन मात्र मुद्दा दायर हुने गरेको छ ।