Logo
Logo

भ्रष्टाचारमा मुछिए स्वास्थ्य सचिव


11.7k
Shares

काठमाडौं । स्वाथ्य सचिव डा. रोशन पोखरेल करोडौंको भ्रष्टाचारमा मुछिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहत हुने ठूला खरिदमा उनको प्रत्यक्ष संलग्नता र सेटिङ देखिएको छ । मेडिकल माफियासँगको मिलेमतो देखिएपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन अघि बढाएको छ ।

एउटै खरिदमा सात करोड हिनामिनाको प्रयास भइरहेकोबारे हाल आयोगले छानबिन गरिरहेको छ । भरतपुर अस्पतालका लागि करिब ३२ करोड ४० लाख मूल्य बराबरको ‘थ्रि टेस्ला एमआरआई मेसिन’ खरिदमा ठूलो अनियमितता हुन लागेको हो ।

लक्स स्पेशिफिकेसनका आधारमा इष्ट वेस्ट कन्सर्न प्रालिलाई ठेक्का दिन लागिएको छ । चिनियाँ कम्पनी सिमेन्सको नेपाली एजेन्ट रहेको सो कम्पनीलाई ठेक्का दिलाउन चार महिनादेखि सेटिङ चलिरहेको छ ।

यही साता सो टेन्डरको टुंगो लाग्दैछ । अरु कम्पनीलाई नमिल्ने स्पेशिफिकेन बनाएकाले उसले नै पाउने लगभग पक्का भइसकेको स्रोतले बताएको छ । जसअनुसार लागत मूल्य बराबरकै बजेट खर्च हुनेछ । खुला प्रतिस्पर्धा हुँदा करिब २५ करोड रुपैयाँमा समेत एमआरआई आउनेमा ३२ करोडमा किनेर कमिसन बाँडफाँड हुन लागेको छ । स्वास्थ्यमा मन्त्री नआउँदै सो टेन्डर सकाउन लागिएको छ ।

सार्वजनिक खरिद नियमावली अनुसार २० करोड भन्दा बढी रकमको लागत अनुमानको विभागीय प्रमुखबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । जसअनुसार सचिव पोखरेलले नै लागत अनुमान स्वीकृत गरी सेटिङ मिलाएका थिए ।

साथै, यसमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेल, रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेल, न्युरो सर्जन डा. गुणराज पौडेल, एक्स–रे विभागका प्रमुख रोशन पटेल, लेखा अधिकृत (प्रमोद पोखरेल), बायोमेडिकल इन्जिनियर तुलसी खनाललाई समेत सेटिङ मिलाइएको छ ।

अस्पतालले थ्रि टेस्ला एमआरआई मेसिन हाई इण्डको हुनुपर्ने मापदण्ड राख्दै पुस १८ गते सोमबार एमआरआई खरिदका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको थियो । त्यसपछि सिमेन्सलाई मात्रै मिल्ने गरी अस्पतालले प्राविधिक स्पेशिफिकेशन बनाएर टेन्डर प्रक्रिया अगाडि बढाएकाले अन्य कम्पनीले भने एमआरआई खरिदका लागि टेन्डर नै हालेका थिएनन् ।

अस्पतालले थ्रि टेस्ला एमआरआरआइको प्राविधिक स्पेशिफिकेशनमा कम्तीमा ७० सेन्टिमिटरको वाइड बोर साइजको एमआरआई मेसिन हुनुपर्ने मापदण्ड राखेको छ । सोही कम्पनीले नेपाल प्रहरीमा पनि सेटिङ मिलाएर उच्च मूल्यमा खरिद गर्न लागेको छ । यी विषय दुवै अख्तियारको छानबिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्