काठमाडौं । बढुवा भएको तीन दिन हुँदा पनि नेपाल प्रहरीका डिआइजीको पदस्थापन हुन सकेको छैन । जसकारण फुली लगाउँदा पनि उनीहरुले जिम्मेवारी पाएका छैनन् ।
बुधबार गृह मन्त्रालयले १६ एसएसपीलाई डिआइजीमा बढुवा गरेको थियो । उनीहरुले बिहीबार फुली लगाइसकेका छन् । तर, गृह मन्त्रालयले जिम्मेवारी दिन सकेको छैन ।
स्रोतका अनुसार बढुवा भएकामध्ये केहीले प्रदेश प्रमुखमा जान चाहेपछि विवाद भएको हो । एसएसपीमा प्रदेशको निमित्त प्रमुखमा बसेकाहरु त्यही खटिन चाहेका छन् ।
राजेश बाँस्तोलालाई कोशीमा, जनक भट्टराईलाई मधेस तथा भरतराज बोहरालाई सुदुरपश्चिममा खटाइएको थियो । उनीहरुमध्ये भट्टराईको सरुवा विवादमा परेको थियो । मधेसमा आइजिपी बसन्त कुँवरले दुर्गा सिंहलाई खटाउन प्रस्ताव गरेकोमा चलखेल गरेर भट्टराई गएका थिए । मधेसमा गएलगत्तै उनले तस्करीको लाइन खोल्न सेटिङ मिलाएको सूचना गृह मन्त्रालयले पाएको छ । जसकारण मधेसमा नयाँ डिआइजी पठाउन लागिएको छ । भट्टराई पनि कांग्रेस नेताहरूमार्फत पावर लगाइरहेका छन् ।
बुधबार कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहेरा, रबिन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द, यज्ञ बिनोद पोखरेल र विकासराज खनाल डिआइजीमा बढुवा भएका थिए । बढुवा भएकामध्ये अधिकांश सहायक दरबन्दीमा खटिने भएपनि मधेस प्रदेशको विषयले पदस्थापन रोकिएको हो ।