Logo
Logo

नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता अमृतपाल भारतमा पक्राउ


945
Shares

काठमाडौं । फरार रहेको भनिएका ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ । एक महिनाभन्दा लामो समयदेखि फरार रहेको अमृतपाल सिंहको गिरफ्तारीको पुष्टि पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले गरेको हो ।

बीबीसीका अनुसार पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ । मेगा जरनेल सिंह भिन्डरावालेको गाउँ हो जसको नेतृत्वमा पञ्जाबमा झन्डै एक दशक विद्रोह चलेको थियो ।

प्रहरीले नागरिकहरूसँग शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ । सिंहले सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका थिए । १८ मार्चदेखि उनी फरार रहेका थिए ।

सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् खोजी गरिदिन आफूहरूलाई पत्राचार गरेको यसअघि नेपालको अध्यागमन विभागका अधिकारीहरूले बताएका थिए । २९ वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन् ।

सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ । तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए । गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किएका हुन् । अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे ।

दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए । पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो ।

नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए । त्यसको एक महिनापछि उनी ’वारिस पञ्जाब दे’का प्रमुख नियुक्त भए । उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन् ।

उनी किसानहरूको प्रदर्शनका क्रममा पनि पक्राउ परेका थिए । गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो । पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो ।

पञ्जाब प्रहरी अनुसार ‘वारिस पञ्जाब दे’का कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ । उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पु¥याएको जस्ता अभियोग लगाइएको छ ।

पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको थियो ।

उनी पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन् । सिंहका समर्थकहरूले गत फेब्रुअरीमा हिरासतमा रहेका उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको थियो ।

अनियन्त्रित भिडमा रहेका क्रुद्ध मानिसहरूमध्ये धेरैले बन्दुक र तरबार बोकेका थिए । आफ्ना साथी रिहा हुने सुनिश्चित भएपछि मात्र त्यहाँबाट बाहिरिएका थिए ।

प्रहरी अधिकारीहरूले पछि दाबी गरेअनुसार उनीहरूले सिखहरूको पवित्र ग्रन्थ ‘गुरुग्रन्थ साहिब’लाई ढालका रूपमा प्रयोग गरेका कारण भिड नियन्त्रण गर्न कठिन भएको थियो ।

उनको हाउभाउ र रूप अहिले जरनेल सिंह भिन्डरावालेको जस्तै देखिन्छ । भिन्डारेवालेको नेतृत्वमा झन्डै एक दशक चलेको विद्रोहका क्रममा हजारौँ मानिसहरूको मृत्यु भएको थियो । विद्रोहीहरूले मुख्य नेताहरूदेखि साधारण मानिसहरूलाई पनि निसाना बनाएका थिए ।

प्रहरी कारबाहीमा कैयौँ सिख युवाहरू समेत मारिए भने पञ्जाबमा अझै त्यस हिंसाको त्रास रहेको बीबीसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्