काठमाडौं । बसन्तबहादुर कुँवरले प्रहरी नेतृत्व सम्हालेको ठिक एक महिना भएको छ । यो अवधिमा उनी ठूलो विवादमा परेका छैनन् । बरु दुई वर्षे कार्यकाललाई सफल बनाउन कार्ययोजना निर्माणमा केन्द्रित छन् । एआइजी टेकप्रसाद राईको नेतृत्वमा दुई वर्षे कार्ययोजना बनिरहेको छ ।
उक्त योजना बनेपछि नेपाल प्रहरीमा केही सुधार हुने अपेक्षा गरिएको छ । नेपाल प्रहरीमा सबैभन्दा ठूलो समस्या राजनीतिक हस्तक्षेप हो । सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप रोक्न सकियो भने योग्य, सक्षम प्रहरीले अवसर पाउने छन् । जसले गर्दा प्रहरीको मनोवल पनि बढ्छ । तर, सामान्य प्रहरीको सरुवा, बढण्ुवामा पन िमन्त्रीहरूको दबाब आउने हुँदा प्रहरी संगठनभित्र विकृति मौलाएको छ ।
संगठनभित्र उनले केही सुधारको काम थालेका छन् । विगतमा पहुँचका आधारमा काजमा बसेकाहरूलाई उनले धमाधम फर्काउन थालेका छन् । काज विकृतिले प्रहरी अस्तव्यस्त छ । सिपाहीहरू आफुअनुकुल कार्यालयमा बस्न शक्तिकेन्द्रबाट आइजीलाई फोन लगाउने गर्छन् । जसले गर्दा प्रहरीको चेन अफ कमान्ड अस्तव्यस्त हुँदै गएको छ । यस्तो विकृति हटाउन उनले सयौं प्रहरीलाई दरबन्दीमा फिर्ता पठाउन लगाएका छन् ।
हरेक दिनजसो आइजीलाई काजसम्बन्धि दर्जनौं म्यासेज जाने गरेका छन् । यसलाई व्यवस्थित गर्न उनले सरुवाका लागि फारम अनिवार्य रुपमा भरर्नुपर्ने नियम लागू गरेका छन् । यसले केही दिनसम्म संगठनलाई सिष्टममा लैजाने विश्वास गरिएको छ ।
तीन महिनाअघि मधेस प्रदेशमा कार्यरत रहँदा वर्षाैदेखि एउटै कार्यालयमा रहेकालाई उनले दरबन्दीमा पठाएका थिए । त्यो कार्यान्वयन नगर्न उनीमाथि ठूलो दबाब परेपनि पछि हटेनन् । अहिले आइजीका रुपमा पनि उनले काज विकृतिलाई सुधार गर्ने प्रयास गरेका छन् ।
सरुवा–बढुवामा पनि उनी ठूलो विवादमा परेनन् । एआइजी बढुवामा बरियताअनुसार नै गरे । डिआइजी बढुवामा शक्तिकेन्द्रको चलखेलका कारण एसएसपी चक्रबहादुर सिंहमाथि अन्याय भयो । अन्यको हकमा बढुवालाई राम्रै मानिएको छ ।
अब एसपीबाट एसएसपी बढुवामा पनि नेताका प्यारा भन्दा आइजिपी कुँवर व्यवसायिक प्रहरीलाई नै अघि बढाउने पक्षमा रहेको बताइन्छ ।
तुलनात्मक रुपमा कुँवर नेपाल प्रहरीका एक असल अधिकृत मानिन्छन् । आइजिपी बढुवामा पनि उनले चलखेल गर्नुपरेन । त्यसकारण ओरालो लागेको संगठनलाई उनले सुधार्ने विश्वास प्रहरी अधिकारीले गरेका छन् ।