Logo
Logo

रुपन्देहीमा रातदिन तस्करी र गोली काण्ड : व्यवसायीदेखि स्थानीयसम्म आतंकित


5.2k
Shares

काठमाडौं । रुपन्देही प्रहरी नेतृत्व फेरिएसँगै रुपन्देहीमा दिनदाहाडै बम पड्किने, गोली चल्ने र तस्करी मौलाउँदै गएको छ । होटलदेखि तस्करसम्म प्रहरीको व्यापक असुली छ । यस्तै, दिउँसै स्थानीयलाई गोली हान्नेदेखि जनप्रतिनिधिको घरमा बम राखी मार्ने प्रयाससमेत भइरहेको छ । यी सबै घटना रोक्न प्रहरी पूर्णरुपमा असफल देखिएको छ ।

अघिल्लो हप्ता मात्रै अपरिचित समूहले रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा बम राखेको थियो । सेनाको टोलीले बम डिस्पोज गर्यो । त्यसको तीन दिनपछि बिहीबार मात्रै सियारीमै दिनदाहाडै एक युवामाथि गोली प्रहार भयो ।

दैनिकजसो गोलीबारुद पड्कीदासमेत प्रहरीले अझै वास्तविकता बाहिर ल्याउन सकेको छैन । घुमुवादेखि चौकी र इलाका प्रहरीसम्मको धन्दा असुलीमै केन्द्रित छ । अहिले जिल्लामा तस्करी मौलाएको छ । तिनाउ, दानव, रोहिणी लगायतको नदी दोहन व्यापक छ । अवैद्यरुपमा नदीजन्य पदार्थ जति बढी उत्खनन भयो, त्यति धेरै फाइदा हुने हुँदा प्रहरीलाई सधैँ दशैँ आएको छ ।

तल्लो तहका प्रहरी कर्मचारीको सेटिङ तोड्न निरीह बनेका एसपी भरतबहादुर विकलाई तस्करी रोक्नै चुनौति थपिँदो छ । उनी तस्करी र अपराध रोक्न रातदिन फिल्डमा खटिन्छन् । तर, तल्लो तहका प्रहरीले सहयोग नगर्दा उनी असफल जस्तै भएका छन् ।

प्रहरीमा टिमवर्क महत्वपूर्ण मानिन्छ । तर, वर्षौदेखि असुलीमा लिप्त प्रहरीले एसपीलाई सहयोग नगरेको कारण कतिपय सूचना समेत एसपीले नपाउने अवस्था छ । केही महिनाअघि रुपन्देही आएका एसपी विक जिल्लामा एक्लोजस्तै बनेका छन् ।

स्रोतका अनुसार, अहिले घुमुवा प्रहरी अनिल रायमाझी, अजय कुँवर, मनोज यादव र निवास क्षेत्रीले असुली आतंक नै मच्याएका छन् । उनीहरुले माथिल्लो तहका प्रहरी अधिकृतको आँखा छलेर हाटेलदेखि तस्करसम्म लाइन मिलाउँदै असुली गर्छन् ।

यसवापत उनीहरुले मोटो रकम असुली गरिरहेको स्थानीय व्यवसायीहरु बताउँछन् । तर, शक्तिकेन्द्रका कारण उनीहरु कारबाहीको दायरामा आउन सकेका छैनन् ।

घुमुवामा सबैभन्दा चलाख मानिने पात्र मनोज यादव हुन् । उनले आफ्नो सम्बन्ध ठाडै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापासँग छ भन्दै असुली गरिरहेका छन् । केही दिन अघि यादवले भैरहवास्थित डालिमा होटलमा पुगेर ३० हजार रुपैयाँ ‘घूस’ मागेका थिए ।

घुस दिए यौनधन्दा संचालन गर्न दिने र नदिए पक्राउ गरी संचालकलाई थुन्नेसम्मको धम्की दिएको प्रत्यक्षदर्शी बताउँछन् । यादवको धम्कीपछि होटल संचालकले आफन्तहरुलाई फोन गरेर आफूलाई धम्की आएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

यादवको असुली धन्दा नयाँ भने होइन्, उनले विगतदेखि नै घुमुवा बस्ने र असुली गर्ने गरेका छन् । उनले रुपन्देहीमा असुली आतंक मच्याएपछि केही वर्ष पहिला जाजरकोट पठाइएको थियो । त्यहाँबाट उनी काठमाडौं सरुवा भए । त्यसपछि केही समय त्यही बसे र शक्तिकेन्द्रको भरमा पुनः रुपन्देही आए । यसबाट पनि यादवको पहुँच कहाँसम्म छ भन्ने बुझिन्छ ।

फेरि शक्तिकेन्द्रकै आडमा उनी रुपन्देहीमा अहिले घुमुवा बसेका छन् । उनकै सेटिङमा अहिले जिल्लामा तस्करको रजगज छ । होटलहरुमा जाने, होटल सञ्चालकलाई थर्काउने, असुली गर्ने र आफूलाई केटी मिलाइदेउ भनेर भन्ने गरेको भैरहवाका सबैजसो होटल सञ्चालक बताउँछन् । उनले अहिले प्रत्येक होटलबाट मासिक १० देखि ५० हजार रुपैयाँसम्म असुली गरिरहेको होटल संचालक नै बताउँछ ।

अघिल्लो हप्ता मात्रै भैरहवाको एक होटलमा रातभर एक महिलासँग प्रहरी जवान यादवले रात बिताएका थिए । आफूलाई जवरजस्ती धम्की दिएर राखेको भन्दै ती युवतीले प्रहरीमा जाहेरी दिने तयारी गरेको बताइन् ।

कोरोना महामारी, आर्थिक मन्दी लगायतले रुपन्देहीको सबै क्षेत्रको ब्यापार–व्यवसाय ठप्प छ । यस्तो बेला होटलदेखि तस्करसम्म प्रहरी घुमुवाको असुलीले व्यापारी आजित छन् । रातदिन भन्सार छलेर तस्करी हुँदा केही तस्कर व्यवसायीलाई लाभ भए पनि इमान्दार व्यवसायी धरासायी भएका छन् ।

पटकपटक तस्करी रोक्न आवाज उठाउँदै आएका व्यापारीले प्रहरी घुमुवाका कारण नै आफूहरु मर्कामा परेको भन्दै हारगुहार गर्न थालेका छन् । अहिले रुपन्देही बेलहिया, मेउडिहवा, दुर्गौलिया, मैनहिया, पिपरहवा, कर्महवा, मर्यादपुर, मर्चवारलगायतका नाकाबाट ब्यापक तस्करी हुँदै आएको छ ।

तस्करले कपडा, हार्डवेयर, मोटरपार्टस्, काजुबदाम, रेडबुल, कुखुरा, कुखुराको तयारी मासु लगायतका सामानको तस्करी गरिरहेका छन् । एकातर्फ स्वदेशी व्यवसायी मन्दीको मारमा छन् भने अर्कातर्फ सरकारको राजश्व गिर्दो छ । यस्तो बेला तस्करी गराएकै कारण घुमुवाहरुले एउटै तस्करबाट मासिक ३ लाखसम्म बुझ्ने गरेका छन् ।

तस्करहरुकै भनाईलाई आधार मान्ने हो भने अहिले घुमुवाहरुले मासिक ५० लाख बढी असुल्छन् । रुपन्देहीमा सशस्त्र प्रहरीले घुमुवा राखेको छैन । यही मौकामा सशस्त्रको भागमा आउने मोटो रकमसमेत अनिल रायमाझी नेतृत्वको घुमुवा टोलीले असुली गरिरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्