प्रदीप गिरी भन्ने गर्थे, ‘मुलुकमा कोही पिछडिएको वा पछि पारिएको छ भने त्यो हो कदमजम ।’ अर्थात् कर्णालीका दलित, महिला, जनजाति र मधेसीमाथि राज्यले हेर्ने दृष्टिकोण ।
कर्णालीका बारेमा धेरै चर्चा हुन्छ । भोग, रोग र शोक कर्णालीको नियति नै हो । प्राकृतिक सौन्दर्यता, सभ्यता, संस्कृति, कला साहित्यमा कर्णाली उत्कृष्ट भए पनि त्यसको विकासमा कुनै पनि शासकको ध्यान जान सकेन । अझ डरलाग्दो त सडकमार्ग छ, जुन मार्गलाई मृत्युमार्ग भनेर चिनिन्छ ।
कर्णाली के हो ? के होइन ?
कर्णालीका नागरिकहरूले एनजिओ र आइएनजिओहरूको अनुदानको चामलसँग रैथाने अन्नबाली साटेकै हुन् । कुनै दिन मकै फल्ने, कोदो रोप्ने, गाई भैँसी पाल्ने रनवनहरू, गोठखर्कहरू वनझर बनाएकै हुन् ।
अझ भनौँ कर्णालीका मान्ठहरूले आफ्नो कर्तव्य, विगत, वर्तमान र आगतका बारेमा ठोस विश्लेषण गर्न नसकेकै हुन् । यही कारण त्यहाँको जनजीवन अन्य प्रदेशको भन्दा पछाडि परेको छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादनका हिसाबमा कर्णाली पछाडि छ । पुराना परम्परामा बाँधिएको छ । केही जडतामा समाज बाँचिरहेको छ । केही धार्मिक अन्धविश्वास र अनावश्यक मान्यताबाट माथि उठ्न नसकेको पनि सत्य हो । कर्णालीका मान्छेहरूको मुख्य आयआर्जनका रूपमा रहेको जडीबुटीलाई राज्यले उचित व्यवस्थापन गर्न नसकेको पनि सत्य हो ।
तर, आम नागरिकहरूले भन्ने गरेको र बुझ्ने गरेको भन्दा निकै भिन्न छ, कर्णाली । कर्णालीलाई हेर्ने र बुझ्ने दृष्टिकोण जे सतहमा आएको छ, त्यो सत्य होइन । नेपाली भाषा, साहित्य र सभ्यताको भूमि हो कर्णाली । कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँको हो कर्णाली । कर्णाली नदी, स्वर्गको उपमाले चिनिएको रारा, से–फोक्सुण्डो, त्रिवेणी पाटन, सिँजा दरालगायतका प्राकृतिक सौन्दर्यताहरूको शब्दमा वयान गर्न कठिन छ ।
त्यहाँका गरिब नागरिकले यस्तो सुन्दर कर्णालीको नाम लिँदा लघुताभास गर्नुपर्ने कुनै कारण छैन । बरू कर्णालीको सौन्दर्यताप्रति उच्चताभास गर्नुपर्छ । कर्णाली दुःखको घाउ होइन, सम्भावनाको मल्हम हो ।
विकासको नाममा विनास
विडम्बनापूर्वक भन्नुपर्छ, कर्णालीको विकासको नाममा विनास निम्याइएको छ । कर्णालीको विकासका नाममा निम्त्याइएको विनासको जिम्मेवार राज्यमात्रै होइन, कर्णालीकै नागरिक पनि हुन् । सडकको नाममा मृत्युमार्गहरू खोलिएका छन् ।
बस्तीहरू जोखिममा पारेर भए पनि जथाभावी सडक खन्ने काम भइरहेका छन् । छरिएर रहेको बस्ती छ । स–साना बस्तीहरूका नागरिकलाई बाटो चाहियो भन्छन् । प्रत्येक गाउँमा बाटोको माग छ ।
विकासको बारेमा कुरा गर्दा त्यहाँका जनता र नेताहरूको बुझाइ सतही देखिन्छ । विकास भनेकै बाटो हो भन्ने बुझाइ छ । हरेक गाउँटोलमा बाटो पुग्नु भनेको विकास कम विनास बढी हो ।
यस कोर्णबाट हेर्दा कर्णालीबाट प्रतिनिधित्व गर्ने नेता–नेतृत्वका सामु गम्भीर प्रश्न उभिएको छ । कर्णालीको विकासको मोडलका बारेमा छलफल हुनुपर्छ । कर्णालीको विकास सकडमात्रै होइन । आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादन, पर्यटन क्षेत्रको विकास र रोजगारी प्रमुख हो । यतातिर राज्यको ध्यान जान जरूरी छ ।
कर्णाली के चाहन्छ ?
कर्णाली प्रदेशको एकमात्र चाहना विनासरहितको विकास हो । त्यसपछि पूर्वाधार निर्माण र आमूल परिवर्तन हो । कर्णाली प्रदेश, मुलुक समृद्धिको मुहान बन्न सक्छ । कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडीबुटी, वेषभूषा, भाषा संस्कृति, साहित्य र प्राकृतिक स्रोत साधनहरूको उचित उपभोग चाहन्छ ।
कर्णाली, वैज्ञानिक बजारीकरण र व्यवस्थापन चाहन्छ । पर्यटनको मुख्य केन्द्रबिन्दु बन्न चाहन्छ । सोहीअनुरूपको राज्यले आफ्ना लाइन एजेन्सी र स्टाफ एजेन्सीहरूलाई क्रियाशिल बनाउनुपर्छ । स्थानीय नागरिकले आफ्नो हरेक कर्तव्य पालना गर्नुपर्छ ।
कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो । जहाँ सम्भावना छ । अवसर छ । रोजगारी सिर्जना हुने अवसर छ । तर, राज्यको उचित लगानीको अभावमा कर्णालीका थुप्रै सम्भावना र सपनाहरू मरिरहेका छन् ।
यस अर्थमा हेर्दा अब कर्णाली दुःखका गीत, कविता र गजल लेख्ने विम्ब होइन, विकास र समृद्धिका साहित्यरस लेख्ने वातावरण सिर्जना गर्ने र जनताबीचको संकल्प आजको आवश्यकता हो ।
कर्णालीलाई जलविद्युत् उत्पादनको हबका रूपमा विकास गर्न सकिने थुप्रै आधार छन् । हुम्ला कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने तीला नदीको पानीलाई उपयोग गरेर विद्युत् र स्याउ उत्पादनको हबका रूपमा विकास गर्न सकिने यथेष्ठ आधार छन् ।
कर्णालीलाई पर्यटन, ऊर्जा र उत्पादनमा जोड्न सकेको खण्डमा समृद्धि धेरै टाढा छैन । कर्णालीको विकासका लागि राज्यले पठाएको बजेटमाथि पारदर्शीता खोजिनुपर्छ । उपभोक्ता समितिको नाममा हुने लुटको अन्त्य हुनुपर्छ । राज्यका संरचना र सार्वजनिक संस्थानहरूको स्थापना गर्नुपर्छ । त्यहाँका नेता, सांसद र मन्त्रीहरूले कर्णालीको दिगो विकासप्रति स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्छ ।
संघीय सरकारसँग कर्णालीको विकासका लागि आवश्यकता र औचित्यको आधारमा बजेट विनियोजनका लागि पहल गनुर्पछ । कर्णाली राजमार्गको स्तरोन्नति, कर्णाली करिडोरको स्तरोन्नति राज्यको प्राथमिकतामा पर्नुपर्छ ।
त्यस्तै कृषि अनुसन्धान केन्द्र, संकलन केन्द्र, रैथानेबालीको संरक्षणजस्ता कार्यहरू गर्ने जिम्मा राज्यको हो । यस अर्थमा कर्णालीको विकासबिना मुलुकको विकास र समृद्धि सम्भव छैन ।
अन्त्यमा, २०४८ मा शिलान्यास गरिएको कर्णाली राजमार्ग २०६२–०६३ पछि मात्र निर्माणकार्य अघि बढेको थियो । त्यो पनि मृत्युमार्गका रूपमा परिचित छ । २०६६ चैत ५ गते कालिकोटको हुल्मबाट सुर्खेतका लागि छुटेको बस दैलेखको किट्टु भिरबाट कर्णाली नदिमा खस्यो ।
५० जनाभन्दा धेरै यात्रु बोकेको बस कर्णालीमा खस्दा ४० जनाको घटना स्थलमै मृत्यु भयो । त्यही दुर्घटनापछि कर्णाली राजमार्गलाई मृत्युमार्गको भाष्यले सम्बोधन गर्न विवश बनिएको हो । उक्त दुर्घटना आजसम्मकै भयानक थियो ।
त्यसयता आजका दिनसम्म धेरै दुर्घटना भएका छन् । हजारौं नागरिकहरूले दुर्घटनामा परेर अकालमा ज्यान गुमाइसकेका छन् भने सयौं मानिसहरू घाइते बनेका छन् । यसरी हजारौं मानिसहरूले अकालमा ज्यान गुमाउन बाध्य पार्ने सडकहरू, बाटाहरूलाई सुरक्षित राजमार्गको निर्माणमा सरकारले ध्यान दिनुपर्छ ।