कोलम्बो । श्रीलंकाका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन् ।
सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको तर यसमध्ये११२ प्रकारका औषधिको अभाव रहेको उनले बताएका हुन् । सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्ने गरेको उनले बताए ।
आफ्नो आग्रहमा अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ (१२ करोड ४० लाख डलर) थप गरेको जानकारी दिँदै उनले अभाव चाँडै अन्त्य हुने पनि दावी गरे । श्रीलंकाको आर्थिक संकटका कारण सन् २०२२ देखि नै अस्पतालमा चिकित्सकीय अभाव देखिएको छ ।