एजेन्सी । नेदरल्याण्ड्सको एक अदालतले वीर्यदान मार्फत् पाँच सय ५० जनाभन्दा धेरै बच्चा जन्माउन योगदान गरेका एक जना डच पुरुषलाई अब त्यसो नगर्न आदेश दिएको छ ।
एकै व्यक्तिको वीर्यबाट धेरै बच्चा जन्मदा दाजुभाइ र दिदीबहिनीको नाताको सञ्जाल ठूलो हुने र दाजुभाइ–दिदीबहिनीबीच अनजानमै विवाह भएर सन्तान जन्मिन सक्ने सम्भावना रोक्न भन्दै जोनाथन नाम गरेका ४१ वर्षीय ती पुरुषलाई अब वीर्य दान नगर्न अदालतले आदेश दिएको हो ।
अदालतले पुनः वीर्य दान गरेको पाइए एक लाख युरोभन्दा धेरै रकम जरिबाना हुने बताएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१७ मा एक सय भन्दा धेरै बच्चा जन्माउनका लागि बुवाको भूमिका निर्वाह गरेपछि नेदरल्याण्ड्सका प्रजनन् क्लिनिकहरूमा उनलाई वीर्य दान गर्न प्रतिबन्ध लगाइएको थियो । तर त्यसपछि अनलाइनमार्फत विदेशमा वीर्य दान गरेर पाँच सय ५० भन्दा धेरै बच्चा जन्माएको अदालतको ठहर छ ।
अदालतले ती व्यक्तिको वीर्य संकलन गर्ने क्लिनिकहरुलाई यस अघि संकलन गरेको वीर्य तत्काल नष्ट गर्न पनि आदेश दिएको छ । नेदरल्याण्ड्समा एकजना वीर्यदाताबाट १२ परिवारमा २५ जना भन्दा धेरै बच्चाका लागि बाबु बन्न बन्न नमल्निे प्रावधान छ ।