काठमाडौं । सशस्त्र प्रहरी बलले पछिल्लो एक वर्षमा भएका गतिविधि सार्वजनिक गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेको एक वर्षको अवधिमा सशस्त्रले प्रगति विवरण र भावी योजना सार्वजनिक गरेको छ ।
एक वर्षको अवधिमा धेरै नीतिगत निर्णय तथा संस्थागत सुधारका काम भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
अर्यालको नेतृत्वमा सशस्त्र प्रहरीले एक वर्षमा व्यापक सुधार गरेको छ । सरुवामा पूर्वानुमान सूची बनाएर पारदर्शी बनाइएको छ । घुमुवा प्रहरी हटाइएको छ भने शान्ति मिसनलाई पूर्ण पारदर्शी बनाइएको छ ।
त्यस्तै, स्केलका सामानमा सुधार गरी सीमा सुरक्षामा संगठनलाई केन्द्रीत गराएका छन्।
प्रति आतंकवाद इकाई गठन, सीमा अध्ययन केन्द्रको स्थापना, सशस्त्र प्रहरी अस्पतालको विस्तार तथा क्षमताबृद्धि, मालीमा नयाँ एफपियु मिसन र कर्मचारीलाई टेलि–मेडिसिन सेवाको सुरुवातलाई आइजिपीको एक वर्षको उपलब्धिका रुपमा सार्वजनिक गरिएको छ ।
साथै सशस्त्र प्रहरीले १८ वटा आगामी कार्ययोजनाहरु पनि सार्वजनिक गरेको छ ।