काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीको कुर्सी धरापमा परेको छ । कार्यक्षमता कमजोर देखिएपछि उनलाई परिसरको जिम्मेवारीबाट हटाउनेबारे छलफल भइरहेको स्रोत बताउँछ ।
पछिल्ला केही घटनामा उनको कमान्ड कमजोर देखिएको छ । दुई महिनाअघि बालाजु बसपार्कमा भएको आगजनी र लुटपाट घटनामा बालाजु र सोह्रखुट्टे वृत्तका डिएसपीलाई मात्र कारबाही भएको थियो । त्यसमा एसएसपीको गम्भीर कमजोरी देखिएको थियो । बालाजु चोकमा बसेर उनी बसपार्क जाने आँटै नगर्दा ठूलो क्षती भएको थियो । सशस्त्र प्रहरी अघि बढेपछि मात्र उनी पछि लागेका थिए । यद्यपि, त्यो घटनामा उनीमाथि कारबाही हुन सकेन ।
त्यस्तै, गत साता मिटरब्याजपीडितमाथि बल प्रयोग गरेको घटनाले पनि प्रहरी मात्र होइन सरकार नै बदनाम हुन पुगेको छ । गृहमन्त्रीले सो विषयमा फिल्डका प्रहरी अधिकृतले गलत रिपोर्टिङ गरेको सार्वजनिक रुपमै बताइसकेका छन् । यस विषयमा पनि छानबिन समिति बनाइएको छ ।
त्यस्तै, कतिपय अपराधका घटनामा पनि परिसरको काम कमजोर देखिएको छ । कपनकी निरा आचार्य हत्याको घटनामा सिआइबी र अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्दा परिसरका कोही अधिकृत देखिएनन् । परिसरका अधिकारीहरु मिटरब्याजीको पैसा उठाउनेमै व्यस्त छन् । सोही कारण गृहमन्त्रालयले काठमाडौंका एसएसपी हटाउने तयारीमा लागेको स्रोत बताउँछ । भुटानी शरणार्थीका नाममा भएको ठगी घटनाको अनुसन्धान नटुंगाएसम्म उनलाई त्यही राख्न लागिएको छ ।
त्यस्तै, दरबारमार्ग, सोह्रखुट्टे र जनसेवाका डिएसपीको कमान्ड पनि निकै कमजोर देखिएको छ । दरबारमार्गमा कोपिला चुँडाल, सोह्रखुट्टेमा गणेश बम तथा जनसेवामा भेषराज रिजाल छन् । उनीहरु तिनै जना क्षमता भन्दा पनि शक्तिकेन्द्रको आशिवार्दनमा त्यहाँ खटिएका हुन् ।
दरबारमार्ग प्रहरीको अवस्था कस्तो छ भने गत महिना स्ववियु चुनावको बेला त्रिचन्द्र क्याम्पसका ३–४ जना बिद्यार्थीले घन्टाघरदेखि वृत्तसम्म प्रहरीलाई लखेटेका थिए । काठमाडौंको पुलिसिङमा यस्तो लज्जास्पद घटना कहिल्यै नभएको प्रहरी अधिकारी बताउँछन् ।
भानु देउवाको आफन्त भएकै आधारमा सोह्रखुट्टे पाएका बम यसअघि बालाजु घटनामा कारबाहीमा परिसकेका छन् । रात्रीकालिन व्यवसायीलाई उनले रेट नै राखेर पैसा असुल्ने गरेको उजुरी पर्दा पनि कारबाही हुन सकेको छैन । दरबारमार्ग र सोह्रखुट्टेका डिएसपीको सरुवाको तयारी भइरहेको छ । साथै दुई महिनाअघि जनसेवा पुगेका रिजालको पनि पुलिसिङ कमजोर भएको रिपोर्ट प्रहरी प्रधान कार्यालय पुगेको छ ।