Logo
Logo

एसपीलाई प्रधानमन्त्रीले धोका दिएपछि…


35.3k
Shares

काठमाडौं । नेपाल प्रहरीको डिआइजी र एसएसपी बढुवा विवादमा पर्दा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर केही तनावमा परेका छन् । डिआइजी बढुवामा त दुई अधिकृतले उजुरी नै गरे भने एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै केहीले राजीनामा दिने तथा केहीले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका छन् ।

डिआइजी बढुवामा एसएसपी चक्रबहादुर सिंहमाथि अन्याय भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले जसरी पनि आफ्ना जिल्लावासी विकासराज खनाललाई बढुवा गर्न दबाब दिदा सिंहमाथि अन्याय भएको थियो । सो बढुवाविरुद्ध सिंह र अर्का एसएसपी अनुराग द्विवेदीले उजुरी गरेपनि एकै दिनमा त्यसको फस्र्यौट गरेर बढुवा गरिएको थियो ।

त्यस्तै गत शुक्रबार १८ एसपीको एसएसपी बढुवामा सिफारिस भयो । सो बढुवाप्रति असन्तुष्टि जनाउँदै एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् । इन्सपेक्टरमा भर्ना हुँदा आफु १ नम्बरमा रहेको तर आफुलाई छुटाएर अन्याय गरिएको उनको दाबी छ ।

यद्यपि, उनी बढुवामा छुट्दै नहुने खालका अधिकृत नभएको प्रहरी अधिकारी बताउँछन् । जहाँ इन्चार्ज जान्छन् उनी विवादमा परेर फर्कने गरेका छन् । पछिल्लो समय सिन्धुलीमा कार्यरत रहँदा तीन महिनामै उनी तानिएका थिए । त्यसअघि कैलालीमा पनि पैसा लुकाएको कान्डमा उनी हटाइएका थिए । स्याङजा हुँदा पनि गोली चलाएको लगायतको विवादमा पूरा कार्यकाल बिताउन पाएनन् ।

पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा कार्यरत रहँदा पनि हाकिमलाई नटेर्ने तथा लामो समय बिदामा बस्ने गरेका थिए । एक महिनाअघि मात्र अत्याधिक मदिरा पिएर जथाभावी बोल्दा पूर्व डिआइजी दीपक थापाबाट उनी कुटिएका थिए । यसरी पटक–पटक कारबाहीमा परेको र वरियतामा पछि रहेकाले उनी यसपटक छुटेका हुन् । ‘सन्की’ स्वभावका अधिकृतका रुपमा चिनिएका तिम्सिनाले त्यही रिसमा राजीनामा दिएका छन् ।

त्यस्तै, नान्तीराज गुरुङले भने आफ्नो कार्यासम्पादन मूल्याङक सार्वजनिक गर्न चुनौती दिएका छन् । तर, उनी यसअघि एसपी बढुवामा दोस्रो लटमा भएकाले प्रतिस्पर्धामै थिएनन् । तर, जसरी पनि बढुवा हुन शक्तिकेन्द्र धाएका थिए ।

ओखलढुंगा घर भएका गुरुङ विगतमा कांग्रेस निकट भएपनि अहिले उनको सत्तासँग निकटतम सम्बन्ध थियो । चितवन जिल्लाको प्रहरी प्रमुख हुँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनी निकट व्यक्तिहरुसँग निकट सम्बन्ध बनाएका थिए । सोही आधारमा बढुवाअघि प्रचण्डलाई भेट्न गएका थिए । प्रचण्डले उनलाई बढुवामा पार्ने आश्वासन दिएका थिए । तर, उनी एसपी बढुवामै दोस्रो लटमा भएकाले त्यो लटलाई तान्न नसकिने ब्रिफिङपछि बढुवामा छुटे ।

शक्तिकेन्द्रहरुबाट आश्वासन पाएर पनि धोका पाएपछि उनी आक्रोशित भएका छन् । जुन उनको लागि महंगो पर्ने देखिएको छ । किनकी चेन अफ कमान्ड विपरीत गतिविधि गरेको भन्दै उनीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाइसकेको छ । सो ब्याचबाट आइजिपीले चाहेर पनि बसन्त रजौरेलाई बढुवा दिन नसकेको चर्चा प्रहरी हेडक्र्वाटरमा छ ।

एसएसपी बढुवामा भूपेन्द्र खत्रीले भने फड्को मारेका छन् । यसअघि सर्वेन्द्र खनालको पेलानमा परी १२ नम्बरमा बढुवा भएका उनी यसपटक दोस्रो नम्बरमा तानिएका छन् । पहिलो नम्बरमा विश्व अधिकारी नै कायम छन् भने दोस्रोमा रहेका सानुराम भट्टराई तेस्रोमा र ओम अधिकारी चौथोमा छन् ।

कार्यसम्पादन मूल्याङकअनुसार विश्व, भूपेन्द्र, बेल बहादुर पान्डे र सोमेन्द्रसिंह राठौर अग्रस्थानमा थिए । तर, पान्डे १० औं र राठौर सातौ नम्बरमा बढुवा भएका छन् । बालुवाटारकै दबाबमा गंगा पन्त, प्रज्वल महर्जन, कृष्ण मल्लीमगर, मुकुन्द मरासनी बढुवामा अटाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्