काठमाडौं । जन्ममिति फरक देखिएको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीलाई क्लिनचिट दिएको छ । उनको जन्ममितिको विवाद कानूनअनुसार नै देखिएको भन्दै उनीविरुद्धको उजुरी तामेलीमा राखेको हो ।
यसअघि आयोगले नागरिकताको २५ वर्ष उमेर पुगेपछि भर्ना भएको देखिएको भन्दै छानबिन गर्न पत्राचार गरेको थियो । तर, त्यतीबेला उनी शैक्षिक प्रमाणपत्रको उमेरका आधारमा भर्ना भएका थिए । त्यसबेलाको व्यवस्थाअनुसार शैक्षिक प्रमाणपत्रको उमेरले मान्यता पाउने थियो । तर, नागरिकता र अन्य प्रमाणपत्रमा रहेको उमेरको फरक एक वर्षभन्दा धेरै हुन नहुने उल्लेख छ । आइजिपी बढुवाको मुखमा सो कुरा बाहिर आएपछि ज्ञवाली समस्यामा परेका थिए । तर, त्यतीबेलाको व्यवस्थाअनुसार गलत नभएपछि आयोगले उजुरी तामेलीमा राखेको हो । हाल उनी उपत्यका प्रहरी कार्यालयको प्रमुख छन् ।
त्यस्तै, पूर्व डिआइजी अशोक सिंहलाई पनि राहत भएको छ । उनले डिआइजीकै पेन्सनपट्टा पाएका छन् । उमेरविवादका आधारमा उनले एसएसपीबाटै अवकाश पाउने देखिएको थियो । तर, महान्यायाधिवक्ता कार्यालयको एक पत्रका आधारमा प्रहरी किताबखानाले डिआइजीकै मान्यता दिएको छ ।