काठमाडौं । गत वर्ष नेपाल प्रहरीका महानिरीक्षकलाई फुली लगाइदिने तत्कालिन गृहसचिव टेकनारायण पान्डे बुधबार प्रहरी हिरासतमा पुगेका छन् । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं ठगीको घटनामा उनको समेत संलग्नता पुष्टि भएको हो ।
तत्कालिन आइजिपी धिरजप्रताप सिंहलाई फुली लगाइदिदै सचिव पाण्डे।
गत वर्ष १९ बैशाखमा पान्डेले आइजिपीमा नियुक्त भएका धिरजप्रताप सिंहलाई गृह मन्त्रालयमा फुली लगाइदिदै बधाई दिएका थिए । पछिल्लो समय उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए ।
गृहमै हुँदा लोभमा फस्दा उनी अहिले प्रहरी हिरासतमा पुगेका हुन् । अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहसँग उनले पनि लाभ लिएको पुष्टि भएको थियो । पक्राउ परेका सानु भन्डारीसँग उनले पैसा लिएको पुष्टि भएपछि प्रहरीले पक्राउ पूर्जीका लागि अदालतलाई लेखेको थियो । अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी आफै प्रहरी कार्यालय पुगेका थिए, जहाँ उनलाई हिरासतमा लिइएको हो ।
यसरी कुनै दिन आइजिपीलाई फुली लगाउने हैसियतमा बसेका व्यक्तिले पदको मर्यादा कायम नराख्दा प्रहरीले नै यतीबेला उनको हातमा हत्डकी लगाएको छ । त्यसो एक वर्षअघि नै ठगीमा संलग्नलाई पक्राउ गर्दा पनि उनै पान्डेले छुटाएका थिए ।
यो प्रकरणमा पूर्व मन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भइसकेको छ ।