Logo
Logo

दलहरू सच्चिएलान् कि अझै बिग्रिएलान् ?


2.5k
Shares

एमालेले विगतमा पाएको मतसमेत उपनिर्वाचनमा जोगाउन सकेन । गठबन्धन दलका उम्मेदवार हार्नु भनेको उनीहरूले बोकेको विकृति र विसंगति नै प्रमुख कारण हो । अर्कोतर्फ, दर्शनविनाका दलहरूको उदय थप जोडदार बन्यो ।

यसरी विचार कमजोर देखिनुमा स्थापित दलहरूका गलत आचरणहरू जिम्मेवार छन् । कम्युनिष्ट भनाउँदा दलाली गर्छन् । समाजवादको नारा लगाउँछन् । आफैँ सामन्तजस्तो बनेका छन् । नातावादको विरोध गर्छन्, आसेपासे पोस्छन् । विचार र सिद्धान्तलाई सत्ता हत्याउने हतियार बनाउँछन् । टुटफुटमा मस्त र व्यस्त छन् । अनि त्यो विचार कसरी विजयी हुन्छ ? विचारअनुसार नेता, कार्यकर्ता र नेतृत्व चल्न नसक्दाको परिणाम उपनिर्वाचनमा ठूला दलको पराजय हो ।

खासगरी २०७९ को स्थानीय तहको निवार्चनले पुराना दलहरूलाई ‘सच्चिनुपर्छ’ भन्ने स्पष्ट सन्देश दिएको थियो । तर, सच्चिने कुनै छाँट देखिएन । त्यसपछि संघ, प्रदेश र हालै सम्पन्न भएको उपनिर्वाचनसम्म आउँदासम्म पनि उही सन्देश सुनियो÷देखियो सच्चिएको आभास जनताले पाएनन् ।

केही मान्छेहरूले ‘नो नट अगेन’ भन्ने नाराहरू लगाएका थिए । तर, कोही कसैले ती नाराहरूलाई ध्यान दिएनन् । एक हिसाबले उपनिर्वाचन जनमतसंग्रह जस्तै हो । उपनिर्वाचनले पुराना दलहरूलाई सच्चिनका लागि अन्तिम चेतावनी दिएको छ ।

केही मान्छेहरूले ‘नो नट अगेन’ भन्ने नाराहरू लगाएका थिए । तर, कोही कसैले ती नाराहरूलाई ध्यान दिएनन् । एक हिसाबले उपनिर्वाचन जनमतसंग्रह जस्तै हो । उपनिर्वाचनले पुराना दलहरूलाई सच्चिनका लागि अन्तिम चेतावनी दिएको छ । यदि सच्चिन तयार भएनन् भने आगामी २०८४ को निर्वाचनमा सकिनबाट कसैले रोक्न सक्दैन ।

को सच्चिने ? के सच्याउने ?
लोकतन्त्रलाई बलियो बनाउने भनेकै विचार र सिद्धान्तले हो । तर, विचार र सिद्धान्तलाई कमजोर बनाएर पार्टी बलियो हुँदैन । यही अवस्थालाई दृष्टिगत गर्दै दावाका साथ भन्न सकिन्छ, आजको दिनमा सुध्रनुपर्ने स्थापित दलका कार्यकर्ता, नेता र नेतृत्व नै हो ।
अनि सच्याउनुपर्ने ? आचरण र व्यवहार नै हो । खोज्नुपर्ने, विचार र व्यवसायबीचको तादात्म्यबाट नै हो । नेता र नेतृत्वहरू अतिरिक्त नातावाद, कृपावाद, नश्लवादी प्रवृत्तिमा फस्दा आजको दिन आएको हो । जब सुध्रिनुपर्ने कुरा आउँछ, त्यो बेला नेताहरू भन्छन्, ‘हामी विगतका गल्ती गर्दैनौँ ।’ तर, व्यवहारमा पुराना गल्तीहरू दोहोर्याउने मात्र होइन, नयाँ–नयाँ गल्तीहरू समेत गर्छन् ।

समाजवादको नारा लगाउनेहरूको पारा झन् रमाइलो छ । हाम्रो देशका समाजवादीहरूले कुनै अवसर आउँदा सबैभन्दा पहिले आफूलाई हेर्छन् । आफू नभए श्रीमती, श्रीमती नभए छोरा, बुहारी । त्यति पनि नभए छोरी, ज्वाइँ, त्यो पनि नभए, सम्धी÷सम्धिनी, भान्जा÷भान्जी । त्यतिसम्म पनि नभए सबैभन्दा बढी चाकरी गर्ने कार्यकर्तालाई अवसर दिन्छन् ।

नेताहरूले असली कार्यकर्ता पाखा लगाएर बिचौलियाहरूलाई काखा गरे । गुट खडा गरेर लुट मच्चाउनेलाई प्रश्रय दिए । कम्युनिष्टहरूको आफ्नो निजी सम्पत्ति हुँदैन भन्छन्, उनीहरू सबैभन्दा धनी छन् । आफ्नो भन्ने केही हुँदैन भन्छन्, अवसर आउँदा तीनपुस्ते हेर्छन् । विलासितामा कम्युनिष्टहरू रमाउँदैनन् भनिन्छ । तर, उनीहरू महँगा गाडी चढ्छन् ।

अस्पताल र स्कुल जनता र नेताहरूको एउटै हुनुपर्छ भन्छन्, तर कम्युनिष्ट नेताहरूको ठूलो लगानीमा निजी अस्पताल र स्कुल खोलिन्छन् । भन्ने एउटा, गर्ने अर्कै । नारा एउटा, पारा फरक । मतलव यी सबै हुन थालेपछिको परिणाम विभिन्न निर्वाचनहरूले देखाइदिएकै छ । अतः पुराना दल र नेताहरू सुध्रिएनन् । जनता आफैँ बदलिए ।

उपनिर्वाचनको अर्को सन्देश पनि छ, जनताले हाम्रोलाई होइन, राम्रोलाई रोजेको देखिन्छ । तर, पासपोर्ट काण्डमा मुछिएका रविले बढी मत पाए । बारा, चितवन र तनहुँबाट निर्वाचित उपेन्द्र, रवि र स्वर्णिम चर्चित उम्मेदवार थिए । उनीहरू लोकप्रिय होइन । आजको आवश्यकता योग्य, दक्ष र सक्षम पात्रको खोजी हो । हल्ला गर्नेहरूको होइन ।

मधेस आन्दोलनको मुख्य उपलब्धि नै संघीयता र पहिचान हो । उक्त आन्दोलनको नेतृत्व उपेन्द्र यादव नै हुन् । तर, पछिल्लो समयमा उपेन्द्रको ओझ घट्दै गएको टिप्पणी हुन थालेको स्थितिमा सत्ता गठबन्धनका तर्फबाट निर्वाचन जिते ।

सप्तरीका जनताले पराजित गरेका यादवलाई बाराका जनताले अनुमोदन गरे । यादवका निम्ति उपनिर्वाचन आशावादी बन्यो । उनको विगत राम्रो भएता पनि उपेन्द्रबाट मुलुकले थप अपेक्षा भने गरेको देखिन्न ।

त्यस्तै पूर्वसञ्चारकर्मी समेत रहेका रवि लामिछानेको नेतृत्वमा रहेको रास्वपाले सम्पन्न निर्वाचनमा धेरैले नसोचेको सफलता हासिल गर्यो । काम, काम र काम भन्दै भोट मागेका रविको विगत अत्यन्तै विवादित देखिन्छ ।

आगत कस्तो रहला ? त्यो भविष्यले बताउँला । तर, उनी सञ्चारकर्ममा रहँदादेखि, सांसद र गृहमन्त्री बन्दासम्म विवादमुक्त रहन सकेनन् । चितवनमा उपनिर्वाचन रविकै कारण भयो ।

गृहमन्त्री हुँदा १० वर्षमा नागरिकको गोजीबाट १ अर्ब रूपैयाँ निजी कम्पनीले पाउने ठेक्का सदर गरेको सार्वजनिक भयो । ‘ऐन, नियम त मिलेको रहेनछ, तर कर्मचारीले जे भने त्यो पत्याएर हस्ताक्षर गरे’ भन्दा पनि उनको हाइहाइ गर्नेहरूको कमी भएन ।

यति धूमिल विगत भएको अर्को कुनै दलको उम्मेदवार हुन्थ्यो भने जनताले लखेट्थे होला ! राम्रै छवि भएका र रविभन्दा उमेरले पनि युवाहरूलाई चितवनका जनताले पराजित गरेका छन् । यसरी राजनीतिको पाटोलाई ओल्टाइपल्टाइ हेर्दा रविभन्दा खराब पुराना नेताहरू छन् भन्ने जनतालाई लाग्यो । तर, सत्य त्यसो होइन । पुरानाभन्दा नयाँ झन् खराब देखिन्छन् ।

देश बनाउँछौँ भन्नेहरूसँग विचार छैन । दृष्टिकोण छैन । सत्ताको लागि मरिहत्ते गर्ने, मालदार मन्त्रालय नै चाहिने, फ्रड काम गर्ने, हल्लाको पछि कुद्ने, विचार, सिद्धान्त केही नचाहिने, नैतिकताहीन काम गर्ने तर, अरूलाई नैतिकताको पाठ सिकाउने, अनि जनताहरूले उनीहरूलाई नै सर्वाधिक मत दिने चेत एक प्रकारको जनताको विद्रोह नै हो ।

स–साना खुसी र सफलतामा मात्तिने र स–साना आलोचना र प्रश्न उठ्दा आत्तिने काम गर्नु राजनीतिमा सुहाउँदो कुरा हुँदैन । खासमा नेतृत्वले भीडको विश्वास गर्दैन । नेतृत्वले विचार, सिद्धान्त, नीतिमा विश्वास गर्छ । नेतृत्वले मुलुक र जनताको आवश्यकता र औचित्यमाथि ठोस विश्लेषण गर्छ । देश चलाउँछौँ भन्नेहरूसँग दृष्टिकोण, संकल्प र इच्छाशक्तिसँगै परिपक्वता चाहिन्छ ।

अन्त्यमा,
नेपाली जनता पछिल्लो समय अस्थिर देखिन थालेका छन् । जनता ठूलो दुबिधामा देखिन्छन् । जे भन्दा पनि विश्वास गर्ने, जस्तो भन्दा पनि ताली ठोक्ने जनताले मुलुक निर्माण गर्न सक्दैनन् । सतहमा सुनिने निराशालाई चिन्न सक्नुपर्छ । सुनियोजित षड्यन्त्रलाई चिर्न सक्नुपर्छ । निर्वाचन लोकतन्त्रको मुटु हो । मुटुलाई छान्ने काम जनताको हो । जनताले छान्ने शक्तिले नै मुलुकको राजनीतिलाई निर्देश गर्छ ।

२०६४ मा माओवादीलाई छानेको नेपाली जनताले इतिहासकै सबैभन्दा राम्रो काम गरेको थियो । मुलुकलाई गृहयुद्धबाट शान्तिमा रूपान्तरित गर्नु त्यो अनुमोदन चानचुने थिएन । माओवादी अनुमोदन हुँदा कांग्रेस–एमालेहरू हच्किए । उनीहरूले त्योबेला सच्चिनुपर्ने विश्लेषण गरे । तर, सच्चिएनन् । बरू माओवादी पनि कांग्रेस–एमालेभन्दा खराब बन्यो ।

आजको दिनमा माओवादी रक्षात्मक अवस्थामा आइपुगेको कुरा घामजस्तै छ । त्यस्तै २०७४ मा नेकपा (नेकपा)लाई जनताले अनुमोदन गरे । जनताले त राम्रै गरेका थिए । तर, केपी ओली र प्रचण्डका कारण उक्त जनमत खण्डित बन्यो । मुलुक स्थिर ढंगले अघि बढिरहेको बेला ओलीले हठात् संसद् विघटन गरे । नेकपा र एमाले विभाजन गरे । जुन काम अक्षम्य थिए ।

यी सब कार्य हुँदा जनता रिसाए । जनताले विकल्प खोजिरहेका थिए । रविहरू भेटिए । अब रविहरूले पनि बुझ्नुपर्छ जनताहरूले विकल्प खोज्छन् । हालै सम्पन्न भएको उपनिर्वाचनले उठाएका सवालहरू यिनै हुन् । सबैले ठण्डा दिमागले सोच्नुपर्छ । म होइन, हामी भन्ने भावनालाई जागृत गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्