राजा महेन्द्रले २०१७ सालमा जन निर्वाचित प्रधानमन्त्रीलाई पदच्युत गरे । दलीय व्यवस्थामाथि प्रतिबन्ध लाग्यो, त्यसको ठाउँमा एकदलीय पञ्चायती व्यवस्था स्थापना गरियो । तीन दशकको पञ्चायती व्यवस्थाको नाममा राजाले शासन गरे । त्यो कुरा जनतालाई मन परेन ।
पञ्चायती व्यवस्था अन्त्य गर्दै राजाबाट खोसिएको दलीय व्यवस्था फिर्ता ल्याउन दलहरूलाई तीन दशक लाग्यो । २०४६ सालको जनआन्दोलनले पञ्चायत ढाल्दै दलीय व्यवस्था पुनः स्थापना गर्यो । पञ्चायत ढाल्न प्रजातान्त्रिक र वाम शक्तिहरूले संयुक्त संघर्ष गरे ।
०४६ को जनआन्दोलनपछि पनि राजाले शासन सत्ता हातमा लिने क्रम चल्यो । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिए । पछिल्लो पटक पनि दलीय व्यवस्था फिर्ता ल्याउन दलहरू एक ठाउँमा उभिए । त्यसैको बलमा गणतन्त्र स्थापना भयो ।
नेपालको सन्दर्भमा दलीय व्यवस्था कायम राख्न अहिले अस्तित्वमा रहेका पुराना दलकै भूमिका छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी यस क्रममा मुख्य शक्ति हुन् । र, यिनै दल आज पुराना राजनीतिक शक्तिको रूपमा अस्तित्वमा छन् ।
आम नेपाली समृद्धिको सपना पालेर बसेका छन् । जनताको सोही सपनामा नेताले खेलेका छन् । सुख र समृद्धिका सपना दिएर भोट लिएका छन् । भोट पाएपछि जनताको सपनामा लात मारेका छन् । त्यसैले जनता एकपछि अर्को अनुहारको ट्रायल मार्न बाध्य छन् ।
विकासक्रमको उच्चतम चरणमा रहेको समाजलाई आज राजनीतिले नेतृत्व गरिरहेको छ । र, विश्व राजनीति दलीय व्यवस्थामा आधारित छ । अपवाद बाहेक सबै देशमा दलहरू मिलेर राजनीतिक रूपमा समाजलाई नेतृत्व गर्छन् । नेपालको सन्दर्भमा दलीय व्यवस्था पुनः स्थापित भएर कायम रहँदा नयाँ–नयाँ दलहरू जन्मँदै अस्तित्व स्थापित गर्ने क्रम जारी छ ।
निर्दलीय पञ्चायतविरुद्ध मिलेर संघर्ष गरेका पुराना दल वर्तमान व्यवस्था स्थापित गर्ने सन्दर्भमा पनि सँगै छन् । २४० वर्ष लामो इतिहास बोकेको एकात्मक राज्यसत्ताको पक्ष पोषक राजतन्त्र ढाल्न यिनै पुराना शक्तिले संघर्ष गरे । शासन राजाबाट खोसेर जनतामा ल्याउने काम यिनै दलबाट भयो ।
बहुदल स्थापना र गणतन्त्र घोषणासम्मको अवधि दुई दशकको रह्यो । यस अवधिमा राजनीतिक दल राजसंस्था अर्थात् राजामै निहित हुनुपर्ने बाध्यता थिए । तर, गणतन्त्रपछि दल संवैधानिक रूपमा संविधान र नैतिक रूपमा जनतामा निहित छन् । अथार्त, दलहरूले दलीय व्यवस्थाको पक्षपोषण गरेर जनप्रतिनिधिको रूपमा आफ्नो अस्तित्व आफैसँग राखेका छन् ।
दलीय व्यवस्था पुनः स्थापना र रक्षाका सन्दर्भमा पुराना दलको योगदान मननयोग्य छ । जुन दलहरूको योगदानमा स्थापित वर्तमान व्यवस्थाको आँगनमा हजारौँ दलले फूल्ने सुन्दर अवसर पाउँछन् । र, फूल्दै आएका छन् । तर, पुराना दलको आँगनमा नयाँ फूलहरू फूल्दै जाँदा पुराना दलको अस्तित्व संकटमा पर्ने खतरा उत्तिकै छ ।
आमनिर्वाचन दलका लागि परीक्षा मानिन्छ । जनताले चुने पास, नचुने फेल । यसै मान्यतालाई आधार मान्दा पुराना राजनीतिक दलको अस्तित्व संकटमा देखिन्छ । पछिल्लो आमनिर्वाचन र हालै सम्पन्न उपनिर्वाचनको ‘पोल प्याट्रन’लाई आगामी निर्वाचनको पनि ‘रुझान’ मान्नुपर्ने परिस्थिति देखिन्छ ।
पछिल्लो आमनिर्वाचनपछि ‘नो नट अगेन’ नारा स्थापित छ । नारा, पुराना दलका पुराना नेता लक्षित छ । र, निर्वाचन परिणामले ‘नो नट अगेन’ अनुमोदन गरेको मानिन्छ । वर्षौँ रजगज गरेका दलका प्रतिनिधिलाई धेरै तल छोडेर नयाँ दलका नयाँ अनुहारले राजनीतिक उचाइ प्राप्त गरेका छन् । ‘पोल प्याट्रन’ यस्तै रहने हो भने २०८४ को आमनिर्वाचनमा पुराना दल निक्कै संकटमा पर्नेछन् ।
दलीय प्रतिस्पर्धात्मक व्यवस्थामा कमजोर र बलियो जनमतले निर्धारण गर्छ । नयाँ र पुराना भने दलले अवलम्बन गर्ने नीति र कार्यक्रममा निर्भर हुन्छ । अग्रगामी नीति तथा कार्यक्रम अवलम्बन गर्ने सबै नयाँ दल हुन् । यस अर्थमा केही पश्चगामी बाहेक सबै आजकै दल हुन् । जोसँग अग्रगामी नीति र कार्यक्रम छ ।
नीति र कार्यक्रमको दृष्टिमा पहिले नै अस्तित्वमा आएका र अहिले अस्तित्वमा आउँदै गरेका दलबिच खासै फरक छैन । कतिपय सन्दर्भमा अहिले स्थापित दलभन्दा पहिल्यै स्थापित दल नै बढी अग्रगामी छन् । जनपक्षीय छन् । तर पनि परिस्थिति भने, हिजोका त्याग्ने र आजका रोज्ने बन्दै गएको छ ।
नेपाली मतदाता दलका नीति र कार्यक्रम हेर्दैनन्, दीर्घकालका लागि सोँच्दैनन् । ‘चुनावी ह्वीम’मा मतदान गर्छन् । हरेक निर्वाचनमा ‘नयाँ’ अनुहारको नाममा ट्रायल मार्छन् । यसो भन्दा जनार्दनको मर्दन हुँदैन । मत परिणामले पुष्टि गर्दै आएको कुरा हो । तर, किन यस्तो हुँदै आएको छ ? यो प्रश्नको उत्तर राजनीतिक नेतृत्वको इमानजमानमा खोज्नुपर्ने हुन्छ ।
आम नेपाली समृद्धिको सपना पालेर बसेका छन् । जनताको सोही सपनामा दलका नेताले खेलेका छन् । सुख र समृद्धिको सपना दिएर भोट लिएका छन् । भोट पाएपछि जनताको सपनामा लात मारेका छन् । त्यसैले जनता एकपछि अर्को अनुहारको ट्रायल मार्न बाध्य छन् । आज नयाँ दलको नयाँ अनुहारमा देखिने आकर्षणको अन्तर्य यो भन्दा अरू होइन ।
नयाँ दलले जनतालाई अझ समृद्ध बनाउने जादुमयी नयाँ नीति लिएका छैनन् । त्यस्तो खास कार्यक्रम पनि बनाएका छैनन् । पुरानै दलले स्थापित गरेर छोडेका मुद्दाहरूलाई चर्को स्वरमा उठाएका छन् । आफ्नै समस्याहरू चर्को स्वरमा नयाँ अनुहारबाट सुन्दा जनतामा पनि केही आशा पलाएको छ । तर, अर्को निर्वाचनसम्म पुग्दा त्यो आशा जीवित रहन्छ या रहँदै भन्नेमा शङ्का गर्नुपर्ने हुन्छ ।
पुराना दल राजनीतिक परिवर्तनका सन्दर्भमा स्थापित भएका थिए । अधिकारहरू स्थापित गर्ने सन्दर्भमा गठन भएका थिए । व्यवस्था नै परिवर्तन गर्ने जस्ता गहन जिम्मेवारी लिएर आएका थिए ।
तर आज, राजनीतिक परिवर्तन र अधिकार स्थापित गर्नेजस्ता ठूला उद्देश्य छैन । भएका दलले पनि सबथोक छोडिसकेका छैनन् । त्यसैले, नयाँ दल पुराना दलहरूमा मौलाएका विकृतिका उपज मात्र हुन् । नयाँ दलसँग अहिलेकै अवस्थामा स्थापित अधिकार कार्यान्वयन गर्ने र गराउनेभन्दा थप जिम्मेवारी छैन ।
विगत नभएसम्म वर्तमान हुँदैन । वर्तमान नभएसम्म भविष्य पनि बन्दैन । अर्थात् विगत, वर्तमान र आगतबिच निरन्तरताको सम्बन्ध रहन्छ । गर्व गर्न लायक इतिहास सहितको धरातलमा स्थापित पुराना राजनीतिक दल त्यसै समाप्त हुँदैनन् । तर, आफ्नै धरातल भुल्दै जाने हो भने माकुराको जीवन–चक्र नेपाली राजनीतिक दलको इतिहासमा ‘मेटाफोर’का रूपमा प्रयोग हुनेछ । माउ मासेर सन्तानले नयाँ जीवन पाउनेछन् ।