काठमाडौं । सशस्त्र प्रहरीका एक डिएसपी र एक इन्सपेक्टर एक महिना नपुग्दै इन्चार्जबाट फिर्ता भएका छन् । झापाको सीमा सुरक्षा गुल्म(प्रस्तावित) घेराबारीका डिएसपी सुमन शर्मा र केचना बिओपीका इन्सपेक्टर ओकिल धानुक कारबाहीस्वरुप इन्चार्जबाट हटाइएका छन् ।
स्याउ तस्करीमा मिलेमतो देखिएपछि उनीहरुलाई हटाइएको स्रोत बताउँछ । गत १९ बैशाखमा सशस्त्र प्रहरीले भारत तस्करी गर्न लागिएको एक सय १५ कार्टुन स्याउ बरामद गरेको थियो । कोशीका बाहिनीपति डिआइजी अञ्जनीकुमार पोखरेलको निर्देशनपछि मात्र स्याउ बरामद भएको थियो । प्रारम्भिक छानबिनमा मिलेमतोमै स्याउ तस्करी हुन लागेको खुलेपछि उनीहरुलाई हटाइएको हो । लेनेदन पुष्टि भए विभागीय कारबाही समेत गर्न लागिएको स्रोत बताउँछ । दुवै जना एक महिनाअघि मात्र इन्चार्जका रुपमा खटिएका थिए । एसपी बिक्रम हुमागाईको नेतृत्वमा उनीमाथि छानबिन गर्न समिति गठन भएको छ।
दुवै कार्यालयमा नयाँ इन्चार्ज खटाइएको छ ।
पछिल्लो समय सशस्त्र प्रहरीभित्र शुद्धीकरण अभियान चलेको छ । जसअनुसार गलत गर्नेहरु तत्काल कारबाहीमा पर्न थालेका छन् । तराईका जिल्लाका केही एसपीमाथि समेत प्रधान कार्यालयले निगरानीमा राखेको छ ।