काठमाडौं । प्रहरीका एक लेखापाल हालै पक्राउ परेका छन् । गत शुक्रबार आयोगले महोत्तरीमा कार्यरत लेखापाल बिनोद बिष्टलाई पक्राउ गरेको छ ।
ठेकदारसँग घुस लिदा लिदै उनी बानेश्वरको रेष्टुरेन्टबाट पक्राउ परेका थिए । घुस लिनकै लागि उनी महोत्तरीबाट काठमाडौं आएका थिए । भवन निर्माणसम्बन्धि ठेक्काको भुक्तानी र म्याद थपका लागि उनले डेढ लाख रुपैयाँ घुस लिएका थिए । यो घटनाले प्रहरीभित्रको भ्रष्टाचार पनि कुन हदसम्म छ भन्ने देखाएको छ ।
सो प्रकरणमा महोत्तरीका एसपी प्रकाश मल्ल पनि विवादमा तानिएका छन् । लेखापालले एसपीकै सहमतिमा पैसा उठाउन काठमाडौं आए वा सहमतिबिना आए खुल्न सकेको छैन । मल्ल कांग्रेस नेता पूर्णबहादुर खड्काको दबाबमा महोत्तरी गएका अर्का एसपी हिराबहादुर पाण्डेले नै फेसबुकमा सार्वजनिक गरिदिएका छन् ।
ठूलो बजेट भएका हरेक जसो जिल्लाको अवस्था यस्तै छ । स्रोतका अनुसार सबैजसो लेखापालहरु पहिले नै पैसा बुझाएर गएका छन् । गत वर्ष बालकृष्ण खाणको कार्यकालमा गृह मन्त्रालयले नै लेखापालको सरुवामा पैसा उठाएको थियो । अझ कतिसम्म भने लेखापाल सरुवासम्बन्धि नीति नै आर्थिक चलखेलका आधारमा संशोधन भएको थियो । सोही कारण प्रहरीको लेखा शाखामा विकृति बढेको हो । यस विषयमा अख्तियारले चासो बढाएको छ ।