के सोचेथेँ जिन्दगीमा
के–के भयो आज
एकाएकै आँधी चल्यो
दिउँसै पर्यो रात…
उदितनारायण झा र दीपा झाको आवाजमा रहेको गीतले भनेझैं जिन्दगीमा के सोचिएको थियो, के–के भयो आज ? यसरी आफैँलाई प्रश्न गर्ने ठाउँमा उभिएको अवस्था छ ।
एक आम नागरिकका हिसाबले यस गीतलाई विकसित राजनीतिक परिस्थितिसँग जोडेर हेर्दा नागरिकले परिवर्तित राजनीतिक व्यवस्थासँग के–कस्ता अपेक्षा गरेका थिए ? आज के भइरहेको छ ? यस्ता सवालहरूउपर मन्थन गर्न आवश्यक छ ।
जनताले आफ्नो बाँकी जिन्दगीमा राजनीतिक संघर्ष गर्न नपरोस् । देशलाई पुग्ने खाद्यान्न, लत्ताकपडा, औषधिमुलो स्वदेशमै उत्पादन होस् । राजनीतिक स्थिरता होस् । देशमै रोजगारी होस् । स्वास्थ्य, शिक्षा, पानी, बाटो, बिजुलीलगायतका आधारभूत आवश्यकता सहजरूपमा उपभोग गर्न पाइयोस् । परिवर्तन संस्थागत होस् । कानुनी राज चलोस् । सुशासन कायम होस् । हदै भए सहिदहरूको सपना र विगतको संघर्षलाई नेताहरूले नभुलुन् भन्ने कामना गरेका थिए ।
तर, आज के भयो ?
आजको अवस्थाबारे प्रायः मानिस जानकार छन् भन्ने लाग्छ । विप्लवहरू संसदीय व्यवस्था अन्त्यका निम्ति जनक्रान्ति भनिरहेकै छन् । देश आयातमा निर्भर छ । व्यापार घाटा थप बढ्दैछ । उत्पादनका स्रोत साधन ठप्प छन् । उद्योग कलकारखाना सञ्चालनमा ल्याउन सकिएको छैन । स्वास्थ्य र शिक्षाका बीचमा ठूलो पर्खाल छ ।
विकासको नाम विनास निम्त्याउने काम भइहरेका छन् । मुलुकका सार्वजनिक संस्थानहरू भ्रष्टहरूको हातमा छ । मुलुकमा सुशासनको संकट छ । नैतिक शासकको कमी छ । आमरूपमा भन्दा विगतका दिनहरूमा गरिएका जनसंघर्षहरूलाई भुल्ने काम भइरहेका छन् । सहिदका सपनालाई अलपत्र पार्ने काम भइरहेका छन् ।
विगतका आन्दोलनले जगाएको आशालाई साकार पार्ने अर्थ व्यवस्थाको आकार कोर्न नसकेका कारण निराशा बाँड्नेहरूको दिन आएको हो । त्यसैले, वर्तमान सरकारले काम गर्नुपर्छ । प्रचण्ड यदि राष्ट्र निर्माणको नायक बन्ने हो भने आफ्नो शरीरमा आगो झोस्न सक्नुपर्छ ।
भूगोलका दृष्टिकोणले भन्ने हो भने, कर्णालीको आँखामा विकास र समृद्धिको सपना थियो । कर्णालीको पछौटेपन, गरिबी, विकटता, अन्धविश्वास, जातीय, धार्मिक विभेदलगायतका सबैखाले अन्तरविरोधहरूको अन्त्य होस् भन्ने चाहाना थियो । तर, आज कर्णालीका युवा कोही खाडीमा त कोही भारतको केदारनाथ, गढुवाल, कालापाहाडमा कुल्ली काम गरेर जीविका चलाइरहेका छन् ।
यता, राजनीतिक स्थिरताका हिसाबले संघीय संरचनाहरू अस्थिर छन् । विकसित राजनीतिक परिस्थितिमा जनतामा घोर निराशा छ । गणतन्त्र ल्याउने राजनीतिक दलहरूसँग जनता खुब रिसाएको देखिन्छन् ।
जनता भन्दैछन्, नेताहरूले काम गरेनन् । नेताहरूले देश बिगारे । नेताहरू चोर हुन् । फटाहा हुन् । नेताहरू बदमास हुन् । चौक, चौतारो, धारा, पँधेरा, चिया पसलहरूमा यस्तै टिप्पणी र गाली सुनिन्छन् ।
आजको जीवित सच्याइ पनि यही हो । आजको दिन निम्त्याउने हर्ताकर्ता को हो ? यसको समीक्षा नगरिकन जनताहरू निराश हुन पाइँदैन । हल्ला र सुनियोजित निराशाहरूको पछि दौडिने जनता इतिहासका निर्माता हुन सक्दैनन् ।
को हो जिम्मेवार तत्व ?
संविधान निर्माण, भूकम्प, नाकाबन्दी, कोरोनालगायतका संकटलाई हेर्दा ७० को दशकलाई चुनौती र अवसरकै दशकको रूपमा लिनुपर्छ । संविधान जारी भएपछि मुलुकमा सामरिक गतिविधि बढे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याहरूले निम्तिए । हाम्रा शासकहरूले बुद्धि पुर्याएनन् ।
भूकम्प र नाकाबन्दीबाट तंग्रिदै गरेको अर्थतन्त्र, स्थिरतातर्फ उन्मुख राजनीतिलाई अस्थिरतातर्फ धकेल्ने केही पात्र छन् । उनीहरूको नितान्तै निजी स्वार्थका कारण आजको दिन आएको हो ।
माक्र्सवादी विचारका हिसाबले भन्दा बलियो कम्युनिष्ट पार्टीबिना मुलुकमा शान्ति, स्थिरता, लोकतन्त्र, विकास, सुशासन र परिवर्तनको संस्थागत सम्भव छैन । यसो भन्दै गर्दा के विगतमा यस्तो पार्टी बनेको थिएन ? भन्ने प्रश्न उठ्छ । जो स्वभाविक छ ।
तत्कालीन एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा (नेकपा) विशाल पार्टी थियो । उक्त पार्टीको हालत के भयो ? त्यतातिर नजाऔँ । त्यो जेट विमान नामक पार्टीका चालकहरूले के–कस्ता प्रपञ्च रचे ? कस्ता खाले काम र कदम चाले ? कुन आधारमा पार्टी एकता गरेका रहेछन् ? उनीहरू हाल के गरिरहेका छन् ? यतातिर पनि नजाऔँ ।
आफ्नो नाकैमुनिको भ्रष्टाचार नदेख्ने तर, भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार देखिसहन्न भन्नेहरू को हुन् ? जनताले चिन्नुपर्छ । तत्कालीन नेकपाका एक अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड र मनपरीले गर्दा आजको दिन आएको हो । झन्डै दुईतिहाइको जनमतसहित संविधान कार्यान्वयनको जिम्मेवारीमा पुगेका ओलीले उल्टै संविधानलाई च्यात्ने काम गरे । त्यही दिनदेखि देशको दुर्शदशा सुरु भयो ।
मुलुकलाई समाजवादको दिशातर्फ लैजान सक्ने पार्टीलाई तहसनहस पारेपछि आशावादको हत्या भयो । त्यसपछि मुलुक र जनतामा निराशा छायो । दर्शनबिनाका दलहरूको उदय भयो । जनतालाई भ्रममा पारेर दशिक्षणपन्थी अवसरवादीहरूले सहानुभूति बटुल्ने मौका पाए ।
आशावादलाई जगाउने विद्रोह
जब देशको लोकतन्त्र कमजोर बन्छ, जब जनतामा निराशा छाउँछ, त्यो बेला कोही न कोही लोकतन्त्र र आशावादको पक्षमा उभिन्छ, उभिनुपर्छ, उभिनुपथ्र्यो ।
द्वन्द्व व्यवस्थापन, शान्ति प्रक्रिया र संविधान निर्माणजस्ता महत्वपूर्ण कार्यमा संलग्न नेता हुन् माधव नेपाल । इतिहास निर्माणमा र वर्तमानको साक्षीका रूपमा माधव नेपाललाई लिन सकिन्छ । जो जीवित राजनीतिज्ञमध्ये स्वच्छ छविका नेता गनिन्छन् ।
केपी ओली र प्रचण्डबीचको सत्ता सञ्चालन सम्बन्धी सम्झौताले गर्दा नेकपा विभाजनको तहसम्म पुग्यो । त्यतिमात्र भएन नेकपा एमालेसमेत विभाजन भयो । एमालेका अध्यक्ष ओलीले कोर्ष करेक्सन गर्ने र विगतमा भए गरेका कमजोरीको निर्मम समीक्षा गर्ने काम गरेका भए माधव नेपालहरू बुढेसकालमा पार्टी खोलेर बस्ने थिएनन् । ओलीको मनोमानी, दम्भ, घमण्ड, अराजकताको अन्त्यका लागि माधवहरूले पार्टीबाट विद्रोह गर्नुपरेको थियो ।
ओली दक्षिणपन्थी अवसरवादको दलदलमा फसिसकेपछि कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनु पर्ने आवश्यकता थियो ।
केपी ओली सत्तामा रहँदा मुलुकले ठूलो धनराशि गुमाउनुपर्यो । आसेपासेलाई राज्यको सम्पत्ति दोहान गर्न दिए । उनको पालामा ब्यापक भ्रष्टाचार भयो । जो आज नक्कली शरणार्थी प्रकरणले पुष्टि गरिरहेको छ । स्वास्थ्य सामग्री खरिद, यती, ओम्नी, बतास कम्पनी, गिरी बन्धु चिया, ७० करोड, पानीजहाज कार्यालय, भ्यूटावरजस्ता संरचनामा ओलीको मनोमानीबारे भन्नै परेन ।
ओलीहरूको अराजकता र वैचारिक विचलनका विरूद्ध माधव नेपालहरूको विद्रोह अनिवार्य थियो । जो आज पुष्टि भइरहेको छ । भलै पार्टी सानो होला । विचारसहितको पार्टी निर्माण गर्न सयम लाग्छ भन्ने कुरा भुल्नु हुँदैन ।
अन्त्यमा, हाल गठबन्धनको सरकारले जुन गतिमा काम गरिरहेको छ, यसलाई जारी राख्नुपर्छ । यस्ता कामहरूले जनतामा नयाँ आशा भर्न सकिन्छ । विगतका आन्दोलनले जगाएको आशावादलाई साकार पार्ने अर्थ व्यवस्थाको आकार कोर्न नसकेका कारण निराशा बाँड्नेहरूका दिन आएका हुन् भन्ने कुरालाई ध्यानमा राखेर वर्तमान सरकारले काम गर्नुपर्छ ।
सरकारका प्रधानमन्त्री प्रचण्ड यदि राष्ट्र निर्माणको नायक बन्ने हो भने आफ्नो शरीरमा आगो झोस्न सक्नुपर्छ । अर्थात् माओवादी लडाकुहरूको नाममा भएको भनिएको अनियमितताको फाइल खोल्नुपर्छ ।
त्यस्तै २०४६ सालपछि सत्तामा पुगेका नेता, प्रशासक, सुरक्षातर्फका हाकिम, पत्रकार, व्यापारीलगायतको अकूत सम्पत्तिमाथि छानबिन गर्नुपर्छ । यतिमात्रै काम गर्न सके प्रचण्ड सरकार इतिहासकै सफल र असल सरकार बन्ने छ ।