Logo
Logo

अमेरिकी सपना सपनै बन्यो


3.4k
Shares

मान्छेका हजारौँ सपना हुन्छन् । तीमध्ये एक– अमेरिकी सपना । नेपालीलाई अमेरिका जान पाए अरु के चाहिन्थ्यो र ? स्वर्गै पुगेजस्तो ।

नेपालीमात्रै होइन, संसारका लागि अमेरिका एक सपनाको देश हो । भौतिक र आर्थिक उन्नतिमा मात्र माथि छैन, विज्ञान, व्यवस्थापन र अरु विविध विधाकामा अमेरिका अग्रस्थानमा छ । विश्व शक्ति राष्ट्र पनि हो, अमेरिका ।

अमेरिकालाई दुस्मन ठान्नेदेखि प्रतिस्पर्धामा उत्रिएका विश्वका मुलुकहरूले अमेरिकाको अर्थतन्त्र र विकासलाई पछ्याइरहेका छन् । ती देशका नागरिकका लागि पनि अमेरिका सपनाको देश मानिन्छ ।

अमेरिका जानु पाउन एउटा सफलता मानिन्छ । त्यहाँ गएपछि काम र दाम दुवै हुन्छ । नाम पनि हुन्छ ! जीवन सुरक्षित हुन्छ ! त्यसैले अमेरिकी सपना बग्रेल्ती छ । आफ्ना छोराछोरी याव आफन्त अमेरिकामा छन् भनेर सुनाउन पाउँदा समेत गर्व गर्छन् !

समाजको व्यवहार पनि अचम्मको । यहीँ केही गर्छु भनेर ऋण खोज्दा कसैले दिँदैनन् । पत्याउँदैनन् । तर, अमेरिका जान लागेको थाहा पाउनुपर्छ, पैसा मात्रै होइन छोरी नै दिन तँछाडमछाड हुन्छन् !

अमेरिका प्रायः सबैको ‘ड्रिम’ गन्तव्य हो । लाखौं नेपालीको अमेरिका जाने सपना असरल्ल छ । त्यसमा पनि खास गरेर नयाँ पुस्ताको अमेरिका मोह अति उच्च छ । चर्को ब्याजमा ५०/६० लाख ऋण खोज्यो । हिड्यो सपनाको देश ।

समाजको व्यवहार पनि अचम्मको । यहीँ केही गर्छु भनेर ऋण खोज्दा कसैले दिँदैनन् । पत्याउँदैनन् । तर, अमेरिका जान लागेको थाहा पाउनुपर्छ, पैसा मात्रै होइन छोरी नै दिन तँछाडमछाड हुन्छन् ! यदि, अमेरिकाले ‘फ्रि भिसा फ्रि टिकट’मा लाने हो भने यहाँ ढुंगामाटो मात्रै बाँकी रहला !

सर्वसाधारणको कुरा छाडौँ । यहाँका उच्च ओहदाधारी सरकारी कर्मचारी, खेलाडी, सेलेब्रेटी र राजनीतिज्ञ पनि अमेरिका जान भनेपछि मरिहत्ते गर्छन् । अमेरिकालाई साम्राज्यवादी भन्दै गाली गरेर नथाक्ने नेतासमेत मौका मिले अमेरिका कुलेलाम ठोक्छन् । जान नपाए छोराछोरीलाई पठाउन मरिहत्ते गर्छन् । नगरून् पनि किन ? स्वदेशमा न वर्तमान राम्रो छ, न त भविष्यमा हुनेवाला छ ! यो उनीहरूले राम्ररी बुझेका छन् ।

अधिकांश भन्ने गर्छन्– देश खत्तम छ । नेताहरू आफ्नो स्वार्थका लागि मात्र मरिमेट्छन् । जनताका लागि केही गर्दैनन् । कुनै ठूलो उद्योग धन्दा नखुलेको वषौँ भइसक्यो । विदेशी लगानी ठप्प छ । भएका लगानीकर्ता पनि भाग्दैछन् । देशमा रोजगारीको अभाव छ । अनि, विदेश नगई के गर्ने ?

अमेरिका भिसा पाए सजिलै छिर्छन् । नपाए अवैध बाटो रोज्छन् । खर्चिलो र कष्टकर बाटोबाट महिनौँ लगाएर जान्छन् । मानव तस्करलाई लाखौं बुझाउँछन् । देशपिच्छेका दलाल । अनेकन नियम । कष्टकर यात्रा ।

अवैध बाटोबाट अमेरिका जानेको हुल देख्दा भेडाको बथान जस्तै लाग्ने । अनि त्यही हुलमा होइसिन्छ सपनाको राजकुमार ! होइसिन्छ ज्वाँइसपा ! बाइपङ्खी भेडामा !

सपनाको राजकुरमाको बिल्लीबाठ हुन्छ । कतिपय बीच बाटोमै अलपत्र पर्छन् । कोही नारकीय यात्राको यातना खप्न नसकेर बाटैमा मर्छन् ।

यस्ता घटना बेलाबेला आइरहन्छन् । ती घटनाले सुन्दा समेत पीडा महसुस हुने । भोग्नेलाई त कति पीडा होला ! ज्यानको जोखिम । धनको बर्बाद । आफूमात्रै होइन, परिवारकै बिचल्ली ।

अवैध बाटोमा हिँडेर सर्वस्व गुमाउनेको सूची लामै भइसक्यो । र, पनि अवैध बाटो रोज्न छाडेका छैनन् । केही नक्कली भुटानी शरणार्थीसमेत बन्छन् । पछिल्लो घटनाले यही पुष्टि गर्छ ।

‘सपनाको देश’ पुग्ने हुटहुटीमा धोकाका अनेकौं कथा छन् । भएको जायजेथा सकाउँछन् । ऋणको गुन्टा बोकेर महिनौँ कष्टकर यात्रा गर्छन् । तर, सपनाको देश पुग्न सपना अधुरै । यो, लुकिछिपी अमेरिका पुग्न चाहनेले भोग्नुपर्ने साझा नियति हो ।

कष्टको पहाड छिचोल्दै कोही सपनाको देश पुग्छन् । कसैलाई बीच बाटैबाट फर्काइन्छन् । अमेरिका पुग्नेहरूपनि थुनामा पर्छन् । नपर्नेहरू पनि लुकीछिपी बस्नुपर्छ ।

अमेरिकी मोह देख्दा यस्तो लाग्छ– यदि अमेरिकाले ‘फ्रि भिसा फ्रि टिकट’मा लाने हो भने त यहाँ ढुंगामाटो मात्रै बाँकी रहन्छ होला !

अमेरिका जान कतिसम्म मरिहत्ते गर्छन् भन्ने नक्कली भुटानी शरणार्थी प्रकरणले प्रस्ट पारेको छ । अमेरिका जाने लोभमा शरणार्थी बन्न समेत तयार भए, त्यो पनि लाखौं बुझाएर ।

उक्त भुटानी शरणार्थी बनाउने गिरोहमा राजनीतिकर्मी र उच्चपदस्थका सरकारी अधिकारीहरूसमेत तानिएका छन् । जसले गर्दा अमेरिका जाने सपना बुनेर बसेका लाखौँ युवाका लागि मात्र नभएर देशका लागि समेत कालो दाग बनेको छ ।

हो, अमेरिकामा स्वतन्त्रता छ । न्यायप्रणाली बलियो छ । त्यहाँ जानेहरूले रोजगार पाउँछन् । तर, त्यो ठाउँ सुखैसुख मात्र हुने स्वर्ग पक्कै हैन । त्यहाँ पनि दुःख छ । संघर्ष गर्नुपर्छ । नेपालमा भन्दा बढी दुःख र संघर्ष गरिसकेपछि त्यहाँ पैसा कमाउने हो । अमेरिका पनि पैसा रुखमा फल्दैन ।

अमेरिकामा रोजगार पाइन्छ । कमाइ राम्रो हुन्छ । तर, ६० लाख रुपैयाँ दलाललाई खुवाएर जाने ठाउँ बिल्कुलै हैन, हुँदै हैन । सपनाको देशले मानव तस्करहरू मोटाइरहेका छन् । हाम्रा आफन्तहरू दक्षिण अमेरिकी देशका घना जंगलमा अलपत्र परिरहेका छन् ।

तर, अमेरिका जानेहरूले दुःखको कुरा सुनाउँदैनन् । खाली राम्रा कुराहरूको मात्र अतिरञ्जित बखान गर्छन् । दुःख र संघर्षका कुरा गर्दा आफू तलपर्ने हीन भावना हुन्छ । उनीहरूको यस्तै बढाइचढाइ बखानका कारण हजारौँ नेपाली जसरी पनि अमेरिका छिर्ने नाममा लाखौँ दलाललाई खुवाउँदै आएका छन् । र, मानव तस्करी मौलाइरहेको छ ।

राज्यले एकातिर लुकिछिपी अमेरिका जानबाट रोक्नु छ । अर्कोतिर पीडितलाई न्याय पनि दिलाउनु छ । तर, मानव तस्करीमा संलग्नहरू राजनीति र शक्तिकेन्द्रसँग जोडिएका छन् । शरणार्थी गिरोहको यो धन्दा गम्भीर संगठित अपराध हो । यस्ता अनेक संशय बढाउने घटनाको पनि विस्तृत छानबिन हुन जरुरी छ  ।

यो अपराधमा जतिसुकै शक्तिशाली ओहदाका भएपनि तिनलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । र, आफ्नालाई जोगाउन शीर्षस्थ राजनीतिक नेताहरू अड्डा धाउने, मन्त्री–प्रधानमन्त्रीलाई अनुरोध गर्ने, धम्क्याउने गल्ती गर्नु हुँदैन । यस प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न सकेमात्र पनि अवैध मानव तस्करी र दलालीमा कमी आउने छ ।

प्रतिक्रिया दिनुहोस्