काठमाडौं । नेपाल प्रहरीका एक सिनियर अधिकृतले डिभीका कारण जागिर गुमाएका छन् । एसपी बढुवाको प्रतिस्पर्धामा अग्रस्थानमा रहेका डिएसपी राजेश थापा एसपी त हुन पाएनन् नै जागिरबाट समेत राजीनामा दिनुपरेको छ ।
गत शुक्रबार प्रहरीका २२ डिएसपीको एसपीमा बढुवा सिफारिस भयो । डिएसपी थापा वरियतामा एक नम्बरमा थिए । यसअघि पनि छुटेकाले यसपटक पर्ने निश्चित जस्तै थियो । तर,डिभीमार्फत उनले अमेरिकाको पिआर प्रक्रिया अघि बढाइसकेको उनका प्रतिस्पर्धीले चाल पाए । त्यसपछि बर्खास्त हुनसक्ने भन्दै उनलाई राजीनामा दिन लगाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । उनको डिभी काण्डको फाइदा डिएसपी राजन भुजेललाई भयो । यसपटक पूर्णरुपमा टप २२ भित्र परेकालाई मात्र बढुवामा पारिएको छ । भुजेल २२ औं नम्बरमा बढुवा भएका छन् । थापाले राजीनामा नदिएको भए उनी छुट्ने थिए ।
यसपटकको बढुवामा ठूलो भने चलखेल भएन । वरियतामा २२ भित्र रहेकाको नम्बर मात्र तलमाथि भएको छ । यसले एक किसिमले पावर नभएका पनि चलखेल बिना बढुवामा परेका छन्, त्यो राम्रो हो, तर कार्यसम्पादनमा कमजोरहरू पर्दा काबिल अधिकृतहरुमाथि भने अन्याय भएको चर्चा प्रहरीमा छ ।
बढुवामा परेका श्यामकुमार राई, मिलन केसीजस्ता पटक–पटक कारबाहीमा परेकाहरु पुरस्कृत हुँदा अंगुर जिसी, प्रदीप क्षेत्री, श्यामबाबु ओलिया, राजन लिम्बू, निरञ्जनदत्त भट्टलगायत भने छुटेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै वरियता नमिची बढुवा गर्ने बताएका थिए । यसले विगतमा चलखेल गरेर अगाडि परेकाहरुलाई फाइदा हुँदा विगतमा अन्यायमा परेकाहरु झन् अन्यायमा परेका छन् ।
‘आइजिपीसाब नै गत वर्ष एसएसपीबाट डिआइजी हुँदा १३ बाट १ नम्बरमा बढुवा हुनुभयो,’ एक प्रहरी अधिकारी भन्छन्,‘सायदै कार्यसम्पादन मूल्याङकनै आधारमा उहाँलाई त्यसरी अघि लगिएको थियो होला, अहिले बढुवामा चाँही कार्यसम्पादन नहेर्ने हो भने राम्रो काम गर्ने र नगर्नेबीच के फरक रह्यो र ?’
एसपी बढुवासँगै प्रहरीमा डिएसपीका ४४ पद रिक्त भएका छन् । जसमा २०७० सालमा भर्ना भएका एक सय ४८ जना इन्सपेक्टरको टोली छ । डिएसपी बढुवामा पनि इन्सपेक्टरमा जस्तै टप ४४ भित्रका मात्र पर्ने सम्भावना रहेको बताइन्छ ।