काठमाडौं । सत्तारुढ दलका प्रभावशाली नेता रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्राउ गर्ने आँट गर्ला भनेर सर्वसाधरण त के धेरै जसो प्रहरी अधिकारीलाई नै विश्वास थिएन ।
तर, जब गत बुधबार बिहानै प्रहरीको टोली मैजुबहालस्थित बालकृष्ण खाणको घर पुगेर उनलाई बल प्रयोग गरी नियन्त्रणमा लियो, त्यसपछि धेरैले भन्न थालेका छन्,‘वाह नेपाल प्रहरी ।’
सामाजिक सञ्जालमा त प्रहरीको प्रशंसा भइरहेको छ नै गत शनिबार त नेपाल प्रहरीलाई धन्यवाद दिन हजारौं सर्वसाधारण प्रहरी मुख्यालयको छेउ नारायणचौरमा भेला नै भए । जहाँ प्रहरीका लागि फूल लिएर सर्वसाधरण पुगेका थिए ।
विगतमा प्रहरीविरुद्ध माइतीघरमा धेरै नाराबाजी र प्रदर्शन भए । तर, यसरी प्रहरीलाई धन्यवाद दिन सर्वसाधारण फूल लिएर नक्साल पुगेको घटनाले त्यहाँ उपस्थित प्रहरीका आँखा खुसीले रसाएका थिए ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसमेत त्यहाँ पुगेर प्रहरीप्रति सम्मान व्यक्त गरे । उनीहरुले प्रहरीलाई धन्यवाद दिँदै अनुसन्धानलाई प्रभावित नपार्न राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण पनि गराएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थमाथि यो तहको अनुसन्धानमा हिम्मत जुटाउनु सामान्य विषय होइन । पूर्वगृहमन्त्री खाँण मात्र होइन, एमालेका सचिव टोपबहादुर रायमाझी, वहालावाला सचिव टेकनारायण पाण्डे यतिबेला प्रहरी हिरासतमा छन् । उनीहरुलाई सामान्य आशंकाका आधारमा होइन, बलियो प्रमाण नै भेट्टिएपछि पक्राउ गरिएको हो । त्यसका लागि प्रहरीले निकै मेहनत गरेको छ ।
विगतका केही वर्षमा प्रहरीको मनोबल खस्किएको थियो । निर्मला पन्त लगायत केही केसको अनुसन्धानमा भएको लापरबाहीले प्रहरीप्रतिको छवी जनमानसमा राम्रो थिएन । अहिले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगी मुद्दामा प्रहरीले जून हिम्मतका साथ अनुसन्धान गरिरहेको छ, त्यसले प्रहरीको साख फर्किएको छ । तर, त्यसलाई आगामी दिनमा निरन्तरता दिन सक्छ कि सक्दैन भन्ने विषयले प्रहरीको सफलता र कानुनी शासनको तय गर्नेछ ।
कसरी सुरु भयो अनुसन्धान ?
राज्यसंयन्त्रकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको यो ठगी प्रकरणको पर्दाफास दुई वर्ष अगाडि ‘दृष्टि’ले गरेको थियो । त्यतिबेला नै प्रहरीमा उजुरी परिसकेको थियो । तर, सरकारकै दबाबका कारण अनुसन्धान अघि बढ्न सकेको थिएन । किनकि, त्यतिबेला गृहमन्त्रालयमा बालकृष्ण खाण आफैं थिए । उनी गिरोहकै साथमा थिए ।
पछिल्लो समय उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा.मनोज केसीले यो केसमा अनुसन्धान सुरु गरे । उनीमाथि पनि दबाब नपरेको होइन । यद्यपि, पीडितहरुको पीडा सुनेपछि उनले अनुसन्धान रोकेनन् । त्यही क्रममा गत १२ चैतमा पैसा उठाउने बिचौलिया समूहका केशब दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परे ।
उनीहरू पक्राउ परेलगत्तै त्यसमा संलग्न उच्चपदस्थको सात्तो गयो । मुद्दा फासफुस बनाउने प्रयास भयो । विगतमा कतिपय केसमा यस्तो भएको पनि थियो । त्यसकारण सत्तामा आफुहरु भएपछि समस्या नहुने उनीहरुको बुझाइ थियो ।
तर, यसपटक त्यस्तो हुन सकेन । किनकि, पक्राउ परेका बिचौलियाहरु पनि बिच्किएका थिए । उनीहरुले शक्तिकेन्द्रलाई करोडौं रकम बुझाएका थिए । पैसा पनि खाइदिने, काम पनि नगर्ने र उल्टो पक्राउ परेपछि उनीहरु रिसाएर यसमा संलग्न सबैको पोल खोलिदिएका हुन् ।
पक्राउ परेकामध्ये सानु भण्डारीले सुरुमा त्यसरी अनुसन्धानमा उच्चपदस्थलाई तानेका हुन् । पछि अन्य बिचौलियाले पनि सबैको नाम लिए ।
सुरुमा प्रहरीले ठगी मात्र मुद्दा चलाउने प्रयास गरेको थियो । तर, त्यो सम्भव भएन । संगठित अपराधमा म्याद थप्न प्रहरी बाध्य भयो । जब मुद्दा संगठित अपराधतर्फ गयो, त्यसपछि मात्र अनुसन्धान उच्चपदस्थतर्फ मोडिएको हो । यसका लागि सरकारको आडका साथै प्रहरी अधिकारीको सक्रियता पनि महत्वपूर्ण छ ।
संगठित अपराधतर्फ मुद्दा अघि बढेलगत्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई समातिए । पक्राउ पर्ने उनी पहिलो हाइप्रोफाइल हुन् । उनी १९ बैशाखमा पक्राउ परेका थिए ।
उनी पक्राउ परेलगत्तै टोपबहादुर रामायझी, टेकनारायण पाण्डे लगायतलाई पनि पक्राउ पूर्जी जारी भयो । सचिव पाण्डे भागेर साँगाको एक रिसोर्टमा पुगेका थिए, त्यहीबाट २० बैशाखमा उनी समातिए । त्यही दिन टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि बुटवलमा समातिएका थिए । टोपबहादुरलाई पनि पक्राउ गर्ने प्रहरी योजना रहेकोमा उनी भने आफैं उपस्थित हुने भन्दै प्रहरीलाई झुक्याएर भागेका थिए ।
गत २४ बैशाखमा बालकृष्ण खाँण र उनका सहयोगी नरेन्द्र केसी निवासबाटै पक्राउ परेका थिए । अर्का भिआइपी अभियुक्त टोपबहादुर ३१ बैशाखमा समातिएका छन् । उनी भारतमा लुक्दै आएका थिए ।
हालसम्म यो मुद्दामा १३ जना पक्राउ परेका छन् । जसमध्ये ७ जना बिचौलिया समूह र ६ जना उनीहरुलाई सघाउने उच्च तहका व्यक्ति छन् । पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक, इन्द्रजितका छोरा निरज र कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा फरार छन् ।
पूर्वगृहमन्त्री खाँणले त गोप्य प्रतिवेदन नै कीर्ते गर्नेदेखि बिचौलिया समूहलाई फाइदा हुने गरी विभिन्न निर्णय गराएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका सचिव पाण्डेले पनि मन्त्रीका लागि आफुले पैसाको कुरा गरेको बयान दिएपछि उनी संकटमा छन् ।
एमाले सचिव रायमाझीले भने पैसा लिएर सहजीकरणको काम गरेका थिए । उनले छोराको खातामै पटक–पटक पैसा लिएको पुष्टि भइसकेको छ । बिचौलिया समूहसँगको घनिष्टता तथा लेनेदेनले उनी पनि समूहमै संलग्न रहेको प्रहरी दाबी छ ।
यो मुद्दामा थप उच्चपदस्थ पनि पर्ने सम्भावनापछि सरकारी वकिल कार्यालयले छिटो प्रतिवेदन बुझाउन प्रहरीलाई दबाब दिएको छ । जसकारण अनुसन्धान अधुरै हुने जोखिम छ । यद्यपि, प्रहरी अधिकारी यसलाई सकेसम्म बलियो बनाउने प्रयासमा लागेका छन् ।
यो घटनाको अनुसन्धानमा यसपटक प्रहरीले सरकारको पनि साथ पाएको छ । सुरुमा उच्चपदस्थलाई जोगाउने प्रयास भएपनि बलिया प्रमाण र गृहमन्त्री नारायणकाजी श्रेष्ठको साथ मिलेका कारण अनुसन्धान यहाँसम्म पुगेको हो ।
प्रहरी इतिहासका ठूला अनुसन्धानः रातो पासपोर्टदेखि आलमसम्म
नेपाल प्रहरीले विगतमा पनि हिम्मत गरेर उच्चपदस्थलाई कानुनी कठघरामा ल्याएको छ । रातो पासपोर्ट दुरुपयोगमा चार सभासद्लाई पक्राउदेखि कांग्रेसका प्रभावशाली नेता मोहम्द अफताब आलमलाई पक्राउसम्मका कामबाट विगतमा प्रहरीले प्रशंसा कमाएको थियो ।
२०६७ सालमा प्रहरीको सिआइबीले चार सभासद्लाई पक्राउ गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गायत्री साह, विपी यादब, नारदमुनी राना र शिवपुजन यादवलाई पक्राउ गरेको थियो । सिआइबीका तत्कालीन डिआइजी राजेन्द्रसिंह भण्डारीको सक्रितयामा उनीहरु पक्राउ परेका थिए ।
सर्लाहीका सन्तोष उप्रेतीको गिरोहले सभासद्को पासपोर्टमा मानवतस्करी धन्दा चलाएको थियो । उप्रेतीको गिरोहले सभासद्को पासपोर्टमा विदेश उडाउन १४ लाख रुपैयाँसम्मको लेनदेन गरेको थियो ।
विक्रिको रकममध्ये करिब चार लाख पासपोर्ट दिने सभासद्लाई दिइएको थियो । बिक्रीकै पैसाबाट विमानस्थल अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाइयो । जसमा सहसचिव समेत पक्राउ परेका थिए । सिआइबीकै इतिहासकै यो एउटा महत्वपूर्ण अनुसन्धान थियो ।
त्यस्तै, चार वर्षअघि प्रहरीले पुरानो मुद्दामा पूर्वमन्त्री अफताब आलमलाई पक्राउ गरेकोमा उनी हालसम्म जेलमा छन् । १२ वर्षअघिको सो घटनाको अनुसन्धानमा पटक पटक चलखेल भएको थियो । सर्वाेच्च अदालतले नै अनुसन्धानका लागि पटक– पटक ताकेता गर्दा पनि अनुसन्धान हुन सकेको थिएन ।
प्रदेश नम्बर २ का तत्कालीन डिआईजी प्रद्युम्न कार्की र रौतहटका एसपी भुपेन्द्र खत्री लगायतले यो मुद्दामा सफल अनुसन्धान गरेर प्रहरीको छवी उच्च भएको थियो ।
२०६४ सालको चुनावको मुखमा बुथ कब्जाका लागि बम बनाउने क्रममा बिष्फोट भएर मृत्यु भएको घटना लुकाउन उनले घाइतेलाई इटा भट्टामा हालेर जलाएका थिए । तर, चलखेलका कारण सो घटनाको वर्षाैसम्म अनुसन्धान हुन सकेको थिएन । जब, जिल्लामा इमान्दार प्रहरी अधिकृत पुगे त्यसपछि आलम जेल पुगेका हुन् ।
नेपाल प्रहरीमा अत्याधिक राजनीतिक हस्तक्षेप भएपनि केही व्यवसायिक प्रहरी अधिकारीको हिम्मतका कारण उच्चपदस्थहरू पक्राउ पर्ने गरेका छन् । यसले अपराध गर्नेहरु जतिसुकै पहुँचमा भएपनि एक दिन पक्राउ पर्ने डरले कानुनी शासनमा सुधार हुने देखिन्छ । यस घटनाले अन्तर्राष्ट्रिय जगतमै नेपाल प्रहरीको छवि उँचो बनेको छ ।