हिरोशिमा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताएका छन् ।
जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘आज उनीहरू (रूसी सेना) बखमुतमा छन् । तर बख्मुत अझै रूसको कब्जामा छैन ।’
उनले थपे, ‘म हाम्रो सेनाको सामरिक दृष्टिकोण तपाईंलाई बताउन सक्दिनँ । बखमुतमा केही रणनीतिक गल्ती भएको भए र हाम्रा जनता घेरिएको भए सबैभन्दा जटिलता आउने थियो ।’ युक्रेनले युद्धको सबैभन्दा लामो अन्तरालपछि बखमुत नगरलाई पूर्ण रूपमा कब्जा गरेको भन्ने रूसी दाबीको खण्डन गरेको छ ।
उपरक्षामन्त्री गन्ना मल्यारले युक्रेनी सेना ‘छेउछाउका उपनगरमा’ अघि बढिरहेको र यसले ‘शत्रुलाई बखमुतमा बस्न निकै गाह्रो हुने’ दाबी गरेका छन् । युक्रेनी सेनाले नगरलाई अर्ध–घेरा हालेको बताउँदै उनले युक्रेनले अझैपनि आवासीय क्षेत्र र केही औद्योगिक सुविधाको नियन्त्रण कायम राखेको दावी गरे ।