Logo
Logo

कटवाल पुत्रकोे राजीनामा किन ?


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १७ मंसिर । नेपाली सेनाका पूर्व सेनापति रुक्मांगत कटवालका छोरा सुभांगद कटवालले बढुवा नहुने भएपछि राजीनामा दिएका छन् । भारतीय शैक्षिक प्रमाणपत्र पेश गरी सैनिक सेवामा प्रवेश गरेका कटवालले प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)बाट केही दिनअघि राजीनामा दिएका छन् । उनलाई महासेनानीमा बढुवा गर्नका लागि म्यादथप गर्ने प्रस्ताव रक्षा मन्त्रालयमा लानुपर्ने हुन्छ । रक्षा मन्त्रालयमा लाँदा सुभांगदको प्रमाणपत्रको कुरा उजागर हुने भएकाले राजीनामा नै उत्तम विकल्प हुने सुझाव सेनापति पूर्णचन्द्र थापाले दिएका थिए । सेनापति थापाले सुभांगदको ३ बर्ष म्यादथपको लागि रक्षा मन्त्रालयमा सिफारिस गर्नसक्थे । तर उनको प्रमाणपत्रमा विवाद आएमा सेनाको छविमा पनि आँच पुग्ने भएकाले पिता रुक्मांगदको सल्लाह अनुसार राजीनामा दिएर बाहिरिएका छन् ।

सेनामा यसअघि इश्वरी पौडेल रक्षा सचिव हुँदा धेरै नक्कली प्रमाणपत्र पेश गरी कर्णेल जर्नेल भएकाहरुले राजीनामा दिएर बाहिरिएका थिए । वर्तमान सेनापति थापाको पालामा पनि प्रमाणपत्रकै कारण रथी बढुवा हुनुपर्ने अनोजबहादुर बस्नेतको बढुवा भएन । उनी प्रधानसेनापतिको दाबेदार थिए । तर उपरथीबाटै बिदा हुनुप¥यो । सेनापति थापाले सेनामा सुधारका लागि भ्रष्टाचार नियन्त्रणदेखि नक्कली प्रमाणपत्र पेश गर्नेहरुको सवालमा कठोर नीति अंगालेका छन् ।

यसैगरी, नेपाली सेनामा हाल कार्यरत प्राविधिक पाइलट कर्णेल रामसुन्दर बोहोराको प्रमाणपत्रको बारेमा पनि प्रश्न उठाइएको छ । उनी २०५१ सालमा प्राइभेट परीक्षा दिएर दुई वर्षे स्नातक परीक्षा पास गरेको प्रोभिजनल मार्कसिटका आधारमा बढुवा भएका थिए । तर, उनको ट्रान्सक्रिप्ट नै थिएन । उनले मार्कसिटका आधारमा प्रोभिजनल मार्कसिट निकालेका थिए । जुन अस्थायी प्रयोजनका लागि मात्रै काम चलाउ हुन्छ । २०५१ सालमा प्राइभेट फर्म भरेर परीक्षामा सम्मिलित भएका बोहोरा प्रथम वर्षको अनिवार्य अंग्रेजी विषयमा उपस्थित थिएनन् । तर, उनको रोलनम्बर ३९५८६४ मा अर्का विद्यार्थी रामहरि न्यौपानेले हाजिर गरेकोले परीक्षाफल प्रकाशित हुँदा अनिवार्य अंग्रेजीको प्राप्तांक ४६ सहित हाजिरै नभएका विद्यार्थी रामसुन्दर बोहोराका नाममा पास भएको मार्कसिट आयो । उनी भूलबस आएको मार्कसिट लिन जाँदा कार्यालयले फिर्ता माग्ने डरले २२ वर्षसम्म लिन गएनन् । अहिले बढुवाका बेला प्रतिस्पर्धीले उजुरी गरेपछि उनी गए । तर बोहराको मार्कसिट न्यौपानेले लगिसकेका कारण उनले पाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्