Logo
Logo

के भारत नेपाली भूमि कब्जा गर्न चाहान्छ ?


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने भ्रमणका लागि भोलि भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री नियुक्त भएको लामो समयपछि प्रचण्डको भारत भ्रमण तय भएको हो । तर, उनको भ्रमणको पूर्वसन्ध्यामा भारतको नवनिर्मित संसद् भवनमा नेपाली भू–भाग समेत समेटर ‘अखण्ड भारत’को नक्सा अंकित गरिएपछि नेपालमा त्यसको विरोध सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको संसद् भवनको भित्तामा ‘अखण्ड भारत’ जनाउने मुरल नक्सा राखिएको छ । जहाँ नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेटिएको छ ।

भारतको सत्तारुढ दल भाजपाका नेताहरुले उक्त मुरल नक्साका तस्बिरहरु सामाजिक सञ्जालबाट साझा गर्दै ‘अखण्ड भारत’ लेखेका छन् । भारतका संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मुरलको फोटो राख्दै ट्वीटरमा लेखेका छन्, ‘संकल्प स्पष्ट छ– अखण्ड ।’

भाजपा सांसद मनोज कोडाकले मुरललाई पृष्ठभूमिमा राखेको आफ्नो तस्वीर ट्वीट गर्दै लेखेका छन्, ‘नयाँ संसदमा अखण्ड भारत । यसले हाम्रो शक्तिशाली र आत्मनिर्भर भारतको प्रतिनिधित्व गर्दछ । धन्यवाद प्रधानमन्त्री मोदी । मेरो संसद्, मेरो गौरव ।’

भाजपाका अन्य नेता तथा सांसदहरुले पनि उक्त मुरलको प्रशंसा गर्दै सामाजिक सञ्जालमा सन्देशहरु साझा गरेका छन् । यो विषयले नेपालमा भने विरोध सुरु भएको छ । सत्ता गठबन्धन र प्रतिपक्षका कतिपय नेताहरुले यो विषयमा स्पष्ट धारणा बनाएर मात्रै भारतको यात्रा गर्नुपर्ने बताएका छन् ।

सत्तारुढ गठबन्धन दल नेसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाल लगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउने बताएका छन् ।

ट्वीटरमा नेपाल र भारतका प्रधानमन्त्रीलाई मेन्सन गर्दै भट्टराईले भारतको राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खुला रुपमा बताउनुपर्ने पनि बताएका छन् ।

उनले भनेका छन्, ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ। यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिलेदेखि नै विगार्दै आएको विश्वासको कमिलाई अझ बढाउने सम्भावना छ। भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावबारे समयमै सार्वजनिक गरी सञ्चार गर्नु बुद्धिमानी हुनेछ ।’

त्यस्तै सामाजिक सञ्जाल ट्वीटरमा समेत यसको चौतर्फी विरोध भइरहेको छ । एक जना ट्वीटर प्रयोगकर्ताले प्रश्न गर्दै लेखेका छन्, ‘ जुन अखण्ड भारतको नक्सा भनेर उनीहरुले संसद्मा राखेका छन्, त्यसले के संकेत गर्छ ? के उनीहरुको अन्तिम लक्ष्य भनेको नेपाली भू–भाग समेत कब्जा गर्ने हो ? यसमा प्रधानमन्त्रीले आफ्नो धारणा बनाएर मात्रै भारत भ्रमण गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्