काठमाडौं । झण्डै ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रलाई नेपाल सरकारले दुई बर्षअघि नै उद्योगको मान्यता दिएको थियो । उद्योगको मान्यता दिएपनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भन्ने चलचित्रकर्मीले पाउन सकेका छैनन् ।
चलचित्र उद्योगले बार्षिक रुपमा झण्डै दुई अर्बको कारोबार गर्ने गरेको छ । नेपाली र विदेशी चलचित्र नेपालभर प्रदर्शन हुँदा झण्डै दुई अर्बको कारोबार भइरहेको नेपाल सरकारअन्र्तगत चलचित्र विकास बोर्डको बक्स अफिस, निर्माता संघ र चलचित्र संघको तथ्यांकमा देखिन्छ ।
यो कारोबारअनुसार सरकारले चलचित्र उद्योगबाट २० करोड बढी कर उठाएको देखिन्छ । दर्शकले चलचित्र हेर्नका लागि टिकट काट्दा १३ प्रतिशत कर टिकटमै समावेश भएको हुन्छ । सोहीअनुसार त्यो कर सरकारको राजश्व हुने गर्दछ । यसरी २० करोडभन्दा बढी कर उठाउने सरकारले चलचित्र उद्योगलाई बजेटमा उपेक्षा गरेको भन्दै चलचित्र सम्बद्ध संघ संस्थाहरुले विरोध गरेका छन् ।
बिहीबार राजधानीमा चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको ‘बजेटमा चलचित्र उद्योग’ विषयक अन्र्तक्रियामा संघ संस्थाका प्रतिनिधिले सरकार चलचित्र उद्योगबाट पन्छिन लागेको आरोप लगाए ।
‘एउटा क्षेत्र र उद्योगलाई पाखा लगाएर सरकारले सम्मुनत नेपाल निर्माणको सपना देखेको छ । यस्तो सरकार र सरकारले ल्याएको आर्थिक बर्ष २०८०/८१ को बजेटलाई उत्कृष्ट भनिएको छ । त्यो हामी मान्न सक्दैनौं’ नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भने, ‘चलचित्र उद्योगका हजारौं चलचित्रकर्मीलाई अर्कै देशको नागरिक जस्तो व्यवहार गर्ने र विदेशी चलचित्रलाई उदार हुने गरि बजेट ल्याउने सरकारबाट कला, साहित्य, धार्मिक, पर्यटन र साँस्कृतिक विचलनको प्रयास भएको छ ।’
विदेशी चलचित्र नेपालमा आयात गर्दा लाग्ने भन्सार शुल्क पहिलेको भन्दा घटाएर १ प्रतिशत कायम गर्नु सरकार विदेशी चलचित्रप्रति उदार भएको उनको आरोप छ । सरकारको यस्तो हर्कतले स्वदेशमै नेपाली चलचित्र धराशायी हुने उनले बताए ।
चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महतले पनि यसअघि २ प्रतिशतको अनुपातमा रहेको भन्सार शुल्क नेपाली चलचित्रको प्रवद्र्धनमा सहयोग हुनेगरि कम्तिमा ५ प्रतिशत वा एकमुस्ठ १ लाख कायम गर्न सिफरिस गरेपनि सरकारले बजेटमा १ प्रतिशत कायम गर्दा अचम्मित भएको बताए ।
कार्यक्रममा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र नृत्य संघ, नेपाल आदिवासी चलचित्र महासंघ, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघलगायतले सरकारले चलचित्र उद्योगलाई बेवास्ता गरेको भन्दै चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
बजेटमा दोलखामा फिल्म सिटी र बनेपामा इन्डोर स्टुडियो नीजि लगानीको सहकार्यमा निर्माण गरिनेछ, भन्ने बाक्यमात्रै उल्लेख गरेको थियो । दोलखाको फिल्म सिटी १० बर्षदेखि यहि प्रक्रियामा रहेको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए ।
कम्तिमा दुई अर्ब बजेट लाग्ने फिल्म सिटी निर्माण गर्छु भन्ने तर बजेट चाँही बार्षिक एक करोड पनि नछुटाउने र काम शुन्य हुने योजना देखाएर सरकार पन्छिदै आएको उनले बताए । हजारौं श्रमजीवि चलचित्रकर्मी, कलाकार र प्राविधिक चलचित्र उद्योगबाट विस्थापित हुनुको कारण सरकारले कार्यक्रम ल्याउन नसक्नु रहेको उनले बताए ।
बनेपामा चलचित्र विकास बोर्डले बनाउने भनिएको इन्डोर स्टुडियोको लागि ५० करोड माथीको बजेट आवश्यक पर्छ । तर, सरकारले जग्गा नै प्राप्त नभएको बनेपाको इन्डोर स्टुडियो नीजि लगानीसहित निर्माण गरिने भन्दै पन्छिएको चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए ।
उनले भने, ‘इन्डोर स्टुडियोमा सबै इन्डोर संरचनाहरु निर्माण गर्नुपर्छ । प्रविधिहरु जडान गर्नुपर्छ । अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गर्न कम्तिमा ५० करोड बजेट आवश्यक पर्छ । सरकारले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ । त्यसबाट बोर्डले बढिमा तीन करोड पचास लाख पाउने छन्, त्यो पनि आन्तरिक कार्यक्रम र प्रशासनिक खर्चको लागि । अनि कसरी बन्छ स्टुडियो ।’
चलचित्र व्यवसायी, हलवाला र नेपाली चलचित्रको प्रवद्र्धनका लागि सरकारले उचित कार्यक्रम र बजेट नदिएको चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले बताए । ‘नेपालमा जति चलचित्र बन्छ, त्यसको ४ देखि ५ प्रतिशत मात्र सफल हुन्छ । बाँकीले आफ्नो लगानी समेत सुरक्षित गर्न गाह्रो छ । व्यवसायिक रुपमा जे भएपनि चलचित्र उद्योगमा लगानी त भइरहेको नै छ नी’ उनले भने, ‘त्यो अनुसारको कर पनि सरकारले लिएकै छ । तर पनि सरकारले चलचित्र क्षेत्रलाई बेवास्ता गरेको छ । यसमा सबै एक भएर आन्दोलन गनुपर्छ ।’
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र उद्योगलाई पहिलेदेखि नै सरकारले उपेक्षा गर्दै आएको बताए । उनले भने, ‘चलचित्र सम्वद्ध संघ संस्थाहरुलाई कार्यक्रम माग गरेर हामीले पठाएका थियौं । बजेटमा ती केही कुरा आएन । संचार मन्त्रालयले गत बर्षको बजेट भन्दा १० प्रतिशत कम गरेर कार्यक्रम पठाउनु भने पनि राष्ट्रिय स्तरको योजना र संघ संस्थाको कार्यक्रमलाई छुट्टै पठाएको र बोर्डको आन्तरिक तर्फ समेत ८ करोड बढिको कार्यक्रम पठाएको थिएँ ।’
गतबर्ष मन्त्रालयबाट ३ करोड ९० लाख प्राप्त भएको उनले बताए । यो बर्ष कम पठाउनुभन्दा पनि बढी पठाएको र आन्तरिक बजेट आइनसकेको उनले बताए । चलचित्र उद्योगको विकास र अन्र्तराष्ट्रिय करण किन भएन भनेर प्रश्न गर्ने आफु बोर्डमा पुग्दा अच्चमित भएको भन्दै चलचित्र नीति पास नभएसम्म सरकारले सधै चलचित्र उद्योगलाई उपेक्षा गरिरहने उनले बताए । बजेटमा उपेक्षा भएलगतै मन्त्रालय पुगेर मन्त्री रेखा शर्मासँग बुझ्दा मन्त्रालयबाट बजेट अर्थ मन्त्रालयमा पठाउँदा त्यहि काटिएको र संशोधनको लागि प्रयास भइरहेको बताएको उनले जानकारी दिए ।
आदिवासी चलचित्र संघका निवर्तमान अध्यक्ष अमृत सुनवार, नृत्य संघका अध्यक्ष जनक कार्की, द्धन्द्ध संघका अध्यक्ष नारायण प्रधान, प्राज्ञ संघका सदस्य चेतन सापकोटा, चलचित्र संघका पूर्वअध्यक्ष प्रदिप कुमार उदय, चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्ललगायतले सरकारलाई चलचित्र उद्योगको महत्व बुझाउन र देखाउन एकीकृत रुपमा आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए ।