काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायक राजेशपायल राई फ्रान्स पुगेका छन् । १८औँ नेपाल महोत्सवमा सांगीतिक प्रस्तुती दिन उनी आइतबार फ्रान्सको राजधानी पेरिस पुगेका हुन् ।
पेरिसमा शनिबार र आइतबार अर्थात जुन ३ र ४ मा नेपाल महोत्सव हुँदैछ । ‘मेगास्टार’ राजेशपायलले महोत्सवको दोस्रो दिन जुन ४ अर्थात आइतबार सांगीतिक प्रस्तुति दिने भएका छन् । महोत्सवमा राजेशपायलका अलावा नेपाल र नेपाली संगीतलाई विश्वभर चिनाउँदै आएको ‘सुकर्म’ ब्याण्डको पनि बिशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
‘राई ईज किङ’का रुपमा चर्चित राजेशपायल राई केही दिनअघि मात्र आफ्नो युरोप टुरबाट नेपाल फर्केका थिए । एक साता पनि नवित्दै उनी फ्रान्स गएका हुन् ।
नेपाली सांस्कृतिक गृहले नेपाली कला संस्कृतिलाई सम्बर्धन गर्ने लक्ष्यसहित फ्रान्समा हरेक वर्ष नेपाली महोत्सवमा आयोजना गर्दै आएको छ । आयोजक संस्थाका कविन्द्र कायस्थले महोत्सवमा नेपाली हस्तकलाका सामाग्री, चित्रकला प्रदर्शनी, रथयात्रा, लाखे नाच लगायत नेपाली परिकारका स्टल हुने बताए ।
कायस्थका अनुसार महोत्सवबाट उठेको मुनाफा महावीर पुन संस्थापक सञ्चालक रहेको नेपाल राष्ट्रिय अविस्कार केन्द्रलाई आर्थिक सहयोगस्वरुप हस्तान्तरण गरिने छ ।