Logo
Logo

एसपीहरूमाथि उजुरीको चाङ


41.5k
Shares

काठमाडौं । पश्चिम नवलपरासीका एसपी बिनोद सिलवाल चार महिनामै तानिए । कमजोर कमाण्डको आरोपमा उनलाई छोटो समयमै हटाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

सिलवाल एसपी भएपनि डिएसपी भोजराज पाण्डेयले नै जिल्ला चलाउँदै आएका थिए । विभिन्न ठाउँमा नाका राख्नेदेखि हटाउनेसम्मका काम उनीबाट हुँदै आएको थियो ।

प्रदेशका डिआइजी उमेशराज जोशीलाई समेत हातमा लिएर पाण्डेयले जिल्लामा आफ्नो राज चलाउँदै आएका थिए । एसपी सिलवाल निरिह देखिएको र जिल्लामा बेथिती देखिएपछि उनलाई हटाइएको स्रोत बताउँछ ।

उनी हटाइएपछि तराईका अन्य जिल्लाका एसपीहरू समेत तर्सिएका छन् । सेटिङ मिलाएर कमाउन मस्त रहेका एसपीहरू छोटो अवधिमै तानिने सम्भावना छ ।

मोरङका दीपक पोखरेल, धनुषाका विश्वराज खड्का, महोत्तरीका प्रकाश मल्ल, रुपन्देहीका भरतबहादुर विक, कैलालीका देवेन्द्र पाल तथा बाँकेका सन्तोषसिंह राठौरकोविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी बढेका छन् । खासगरी तस्करीसम्म उजुरी उनीहरुविरुद्ध परेको स्रोत बताउँछ ।

त्यसो त हालै चार एआइजीले चार प्रदेशमा अनुगमन गरेर आफ्नो रिपोर्ट पनि बुझाइसकेका छन् । कोशीमा टेकप्रसाद राई, मधेसमा मिरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदुरपश्चिममा सुदीप गिरी खटिएका थिए । उनीहरुले पनि विभिन्न जिल्लामा प्रहरी मिलेमतोमा तस्करी भएको रिपोर्ट दिएका छन् ।

रिपोर्टअनुसार छानबिन गरी कारबाही गर्न आइजिपी बसन्तबहादुर कुँवरले उजुरी छानबिन शाखाका एसएसपी शेखर खनाललाई निर्देशन दिएका छन् । अनुगमनका क्रममा मधेस र लुम्बिनी प्रदेशमा व्यापक बिकृती देखिएको छ । मधेस प्रदेशका डिआइजी जनकराज भट्टराईले त आफैं घुमुवाहरु खटाएर तस्करीको लाइन मिलाउँदै आएको स्रोत बताउँछ ।

त्यस्तै, उपत्यकाका वृत्तहरूमा पनि हेरफेरको तयारी भइरहेको छ । दरबारमार्ग, सोह्रखुट्टे, महाराजगञ्ज, बानेश्वर, गौशाला लगायत वृत्तका डिएसपीको एक वर्षको अवधि पुग्न लागेकाले नयाँ डिएसपी पठाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्