काठमाडौं । काठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ । ठमेलस्थित भगवतीबहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो ।
हत्या आरोपमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबीच आपसी विवाद भई झै–झगडा एवं कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी जेनिशाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृत्यु भएको सूचना आएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।