काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा गत शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न भयो । २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ सञ्चालनमा आएको हो ।
पाँचौं वार्षिक साधारणसभाले समूह ‘क’ संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । कम्पनीमा शंकर गौतम तथा दीपक पाण्डेय सर्वसाधारण शेयरधनीका तर्फबाट चौंथो साधारणसभाबाटै सञ्चालकमा रहदै आएका थिए । साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७÷७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण समेत पारित गरेको छ ।
साधारणसभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच १ः१ शेयर अनुपातमा हुने मर्जर प्रक्रियालाई स्वीकृति प्रदान गरेको छ । साथै मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।