बाँके । इलाका प्रहरी कार्यालय भगवानपुरको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सोमबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्ष उमेश राज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्त रुपमा नरैनापुरको वडा–५ मा नवनिर्मित कार्यालय भवन उद्घाटन गरेका हुन् ।
प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा उनले वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रदेश प्रहरी कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताए ।
प्रहरी नायब महानिरीक्षक जोशीले आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारीबोध, प्रहरी आचरण र व्यवहारले प्रहरी प्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास लिएको बताए । उनले भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गरेका थिए । अपराध रोक्नको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य महत्वपूर्ण रहने भन्दै सचेत रहनु पर्ने उनले बताए । कार्यक्रममा उनले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीलाई पुरस्कारसमेत प्रदान गरेका थिए ।
त्यस्तै, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इलाका प्रहरी कार्यालय नरैनापुर अन्य प्रहरी कार्यालयभन्दा निक्कै महत्वपूर्ण र विशिष्ट नाका भएको बताए । नेपाल भारत सीमावर्तीक्षेत्रमा हुने चोरी, तस्करी, रोकथाम नियन्त्रण गर्नु, शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, समाजमा शान्ति व्यवस्था कायम गर्नु इलाका प्रहरी कार्यालय भगवानपुरको मुख्यः दायित्व र जिम्मेवारी रहेको अध्यक्ष शाहले स्पष्ट पारे ।
जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको एउटा प्रहरी असुरक्षित भयो भने नागरिकले सुरक्षा पाउन नसक्ने बताउदै उनले हरेक नागरिकले सुरक्षितरुपमा जीवनयापन गर्नका लागि प्रहरी सुरक्षित हुनुपर्ने उनको भनाई थियो । प्रहरी असुरक्षित भयो भने सर्वसाधारणले सुरक्षा पाउनु भनेर आश गर्नु दिवा स्वप्ना हुने अध्यक्ष शाहको भनाई थियो ।