काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग डेढ वर्षदेखि सचिवविहीन छ । अवैध रुपमा एकै व्यक्तिलाई डेढ वर्षदेखि कामु सचिवको जिम्मेवारी दिइएको छ ।
सहसचिव मुरारी खरेलले सिनियर सहसचिवका रुपमा कामु सचिवको जिम्मेवारी पाउँदै आएका छन् । हालै आयोगभित्र नयाँ सचिव नियुक्तिको प्रक्रिया सुरु भएको छ । आयोग बाहिरबाट समेत ल्याउन मिल्ने गरी सचिव नियुक्तिसम्बन्धि मापदण्ड बनाइएको स्रोत बताउँछ ।
नयाँ मापदण्डमा आयोगका अन्य सहसचिवलाई फाइदा हुने गरी बनाइएको स्रोत बताउँछ । सचिव बढुवाको प्रतिस्पर्धामा खरेलसँगै छवि अधिकारी, टिकाराम पोखरेल लगायत छन् । नयाँ मापदण्डले अधिकारी र पोखरेललाई फाइदा हुने बताइन्छ । यसो हुँदा डेढ वर्ष कामु सचिव भइसकेका खरेल सचिवमा बढुवा नहुँदा जुनियरको मातहतमा पुग्नेछन् । सचिव भएर सहसचिवमा झर्नुपरे उनी राजीनामा दिने मानसिकतामा रहेको चर्चा आयोगमा छ । तुलनात्मक रुपमा उनी आयोगभित्र अडान र इमान भएका कर्मचारीका रुपमा चिनिन्छन् ।
आयोगभित्र कर्मचारीमा सधैं गुटबन्दी हुँदै आएको छ । वृत्ति विकासको प्रष्ट नीति नहुँदा पनि बढुवामा सधैं चलखेल हुने गरेको आरोप छ ।